कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

लेटाङ जेसिज अध्यक्ष निरौलाको सक्रियतामा विद्यालयलाई सहयोग

लेटाङ/ माेरङकाे लेटाङ नगरपालिका मा रहेको लेटाङ जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी छत्र कुमार निरौलाको सक्रियता र पहलका कारण लेटाङ–८ स्थित श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक वातावरण सुधारका लागि सहयोग प्राप्त भएको छ।

अध्यक्ष निरौलाको समन्वयमा समाजसेवी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका सुरज खतिवडाले विद्यालयलाई ३ थान सीलिङ फ्यान र १ थान डस्टबिन हस्तान्तरण गरेका हुन्। विद्यालय परिसरमै आयोजित कार्यक्रममा अध्यक्ष निरौलासहित हेमराज पौडेल, हरिश्चन्द्र पौडेल र रोनीश ढुङ्गेलले प्रत्यक्ष विद्यालयमै पुगेर उक्त सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले विद्यार्थीलाई सहज र अनुकूल वातावरण सिर्जना गर्न यस्ता सहयोग महत्वपूर्ण हुने बताउँदै जेसिज संस्था सदैव शैक्षिक र सामाजिक विकासका अभियानमा अगाडि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले सहयोगी खतिवडा र लेटाङ जेसिजप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहकार्यले विद्यालय मात्र नभई सम्पूर्ण समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास प्रकट गरेको छ।