लेटाङ / लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८१।०८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाको आयोजनामा विराट मल्टि टेक्निकल एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहजिकरणमा लेटाङ–५ स्थित लेटाङ बहुमुखी क्याम्पसको हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसँस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, सर्वसाधारण नगरवासी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुख भूपेन्द्र कुमार लावती अस्वस्थ भएर कार्यक्रममा सहभागि हुन नसकेपछि नगर उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, योजना शाखा प्रमुख चेतनाथ गौतम लगायतले कार्यक्रममा सहभागीले उठाएका जिज्ञाशाको जवाफ दिनु भयो ।
कार्यक्रममा सहभागीहरुले कोल्डस्टोर भवन लामो समय अधुरो रहेको, सिँचाइका लागि आवश्यक बजेट नछुट्याएको, क्रशरका कारण स्थानीयवासीलाई समस्या भएको, सडक निर्माण नभएको, लागुपदार्थ दुव्र्यसनी बढेको, शिक्षक अभाव भएको, जेष्ठ नगारिकलाई भवन नहुँदा समस्या भएको र ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको जस्ता विषय उठान गरेका थिए ।
सार्वजनिक सुनुवाईमा उठाइएका धेरै विषयहरुको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जवाफ दिनु भयो भने केही विषयहरुको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मी नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतम शिक्षा शाखाका कर्मचारी अनिल मिश्र लगायतले जवाफ दिनु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरौलाले नगरपालिकाको बजेटको सिमितताका कारण कतिपय योजनाहरु चाहेर पनि सञ्चालन गर्न नसकिएको भन्दै आगामी दिनमा प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

पत्रकार रेवती निरौलाले सहजिकरण गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले सार्वजनिक सनुवाईको आवश्यकता र औचित्य बारे जानकारी गराउनुभयो । कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतमले नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेका कामहरुको बारोमा जानकारी गराउनु भयो । कार्यक्रममा नागरिक अभिमत र वहिर्गमन अभिमतको नजिता समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम सहजिकरण गर्ने सँस्था विराट मल्टि टेक्निकल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक सुमन कार्कीले १५० जना नगरवासीसँग गुगल ड्राइभको माध्यमबाट प्रश्नावली निर्माण गरि जवाफ लिएर सोहि अनुशारको परिणाम प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
