फिचर समाचार स्थानिय

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुनथालेपछि लेटाङ वारङ्गीका लाभग्राही हर्सित

लेटाङ । लेटाङ नगरपालिकाले नगरका पहाडी वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । पहाडी क्षेत्रका वडावासीहरुले सामाजिक सुरक्षा भत्ता लिन नगरसम्म आउनुपर्दा निकै समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गरि नगरपालिकाले वडा कार्यालयबाटै भत्ता वितरण थालेको हो । पहिलो चरणमा धनकुटा जिल्लासँग सिमाना जोडिएको पूर्णरुपमा पहाडी भूगोल भएको वडा नम्बर ७ का लाभग्राहीलाई वारांगीस्थित वडा कार्यालयबाट भत्ता वितरण गरिएको छ । यसरी वितरण हुनथालेपछि लाभग्राहि हर्सित भएका छन् ।

निर्वाचनको समयमा यस क्षेत्रका वडावासीसँग गरेको प्रतिवद्धता अनुशार नै वडाबाट भत्ता वितरण कार्य सुरु गरिएको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । 

यसअघि लेटाङ बजारस्थित एसआइसी एशीया बैंकबाट भत्ता लिंदै आएका वडा नम्बर ७ का वासिन्दाले वडा कार्यालयमै भत्ता पाएपछि खुशी भएका छन् । भत्ता लिन आउँदा यातायात, खाना र खाजा खर्च गरेर २ हजार भन्दा बढी खर्च हुने र २ दिनसम्म लाग्ने गरेकोमा वडा कार्यालयबाटै भत्ता वितरण सुरु भएपछि निकै सजिलो भएको स्थानीयवासी साहेवसिंह लिम्बूको भनाइ छ ।

 भत्ता लिन लेटाङ बजारसम्म झर्नु पर्दा अपांगता भएकाहरु र जेष्ठ नागरिकलाई निकै समस्या हुने गरेको तथा विरामी समेत पर्ने गरेको उहाँको भनाइ छ । जनप्रतिनिधिले चुनावमा गरेको बाचा पुरा गर्दै वडाबाटै सेवा प्रदान गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

हाललाई वर्षमा २ पटक र आगामी दिनमा हरेक चौमासिकमा गरेर ३ पटकसम्मै वडाबाट भत्ता वितरण गर्ने नगरपालिकाको योजना छ । वडाबाट भत्ता वितरण हुँदा समेत केही टोलका वासिन्दालाई निकै टाढा पर्ने देखिएकाले आगमी दिनमा भौगोलिक रुपमा टाढा रहेका टोलहरुमै पुगेर भत्ता वितरण गर्ने योजना रहेको वडाध्यक्ष खगेन्द्र लिम्बूले जानकारी दिनुभयो ।  

भत्ता वितरणका लागि एनआइसी एशीया बैंकसँग सहकार्य गरिएको छ । यसअघि लेटाङ बजारस्थित बैंकको कार्यालयबाटै भत्ता वितरण हुने गरेकोमा सामाजिक उत्तरदायीत्वको भावना राख्दै वडा कार्यालयमै आएर सेवा प्रदान गरेको बैंकका प्रतिनिधि सूर्य विक्रम श्रेष्ठको भनाइ छ । 

लेटाङ नगरपालिका वडा नम्बर ७ मा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको संख्या  २ सय ९६ जना रहेको छ । वडा कार्यालयबाटै भत्ता वितरण सुरु गरिएको भएपनि सहज हुने सेवाग्राहीले नगरपालिकाबाट समेत सेवा लिन सक्ने बताइएको छ । भत्ता वितरणका लागि नगरपालिकाबाट सामाजिक सुरक्षा शाखाका कर्मचारी, नगर प्रहरी र नेपाल प्रहरीको टोली वारांगी पुगेको थियो भने वडाका वडाध्यक्ष, वडासदस्यहरु र वडाका कर्मचारीहरु दिनभर खटिएका थिए । नगरपालिकाले वडाबाटै भत्ता वितरण सुरु भएपछि हजारौं खर्च गरेर २ दिनसम्म लगाएर भत्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ । सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भोगिरहेका लेटाङ ७ का वसिन्दाले केहि हदसम्म भएपनि गाउँमा सिंहदरबार आएको अनुभूति गर्न पाएका छन् ।