पर्यटन फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

विराटचोकमा साङ्गीतिक गजल महफिल सँगै “रेजा”को विमर्श हुने

विराटचोक: विराटचोकमा साङ्गीतिक गजल महफिल हुने भएको छ। यही कार्तिक २४ गते शनिबार राइडर महफिल विराटचोकको आयोजनामा कार्यक्रम हुन लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक कवि छवि बैरागी घिमिरेले बताउनुभयो। उक्त महफिल सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ।

पछिल्लो पुस्तामा साहित्य कलाको विकाससँगै प्रवर्द्धन गर्दै स्रष्टाको सम्मान गर्न यो कार्यक्रम राखिएको समेत घिमिरेले बताउनुभयो। यस्तै विभिन्न ठाउँबाट आउने स्रष्टासँगै स्थानीय पर्यटकीय क्षेत्रको अवलोकन गरी त्यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्य राखिएको घिमिरेले बताउनुभयो।

छैटौं संस्करणको महफिलमा गणेशबाबु अधिकारीको ‘रेजा’ पुस्तकमाथि विमर्श हुनेछ। सो पुस्तक विमर्शमा अस्मिता विष्ट (वक्ता) रहनुहुनेछ। यस्तै अतिथि गजलकारहरूमा मोरङबाट युवराज ठकुरी, धादिङका स्रष्टा लालकाजी श्रेष्ठ र झापाबाट सिन्धु निरौलाले दर्शक माझ सङ्गीतसहित आफ्ना सुन्दर गजल वाचन गर्नेछन्।

यसैगरी विभिन्न क्षेत्रबाट गजल श्रवण गर्न साहित्यकारसँगै स्थानीयको उल्लेख्य सहभागिता रहने उक्त कार्यक्रमको सहजीकरण पत्रकार तथा साहित्यकार विवेक विवश रेग्मीले गर्नुहुने छ ।

यो कार्यक्रमले काव्यात्मक अभिव्यक्तिको एक विधाको रूपमा गजल परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै साहित्यिक विकासमा टेवा पुग्ने भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईले बताउनुभयो। उहाँले भन्नुभयो – भौतिक विकासलाई मात्रै हेर्ने स्थानीय सरकारले बढी प्राथमिकता दिएको र कला साहित्यका क्षेत्रमा खासै चासो नदिएको भन्दै यसतर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभयाे ।

साे पत्रकार भेटघाट कार्यक्रममा राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईको पनि उपस्थिति थियो