कोशी प्रदेश पर्यटन फिचर समाचार

विराटनगरमा श्रमाधान रोजगार मेला शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

विराटचाेक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ र भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै पनि देशमा केही हुँदैन भनेर नकारात्मक भाष्य सृजना गरिएको छ । यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’ नेपाललाई प्रकृतिले धेरै थोक दिएको प्रधानमन्त्री दाहालले बताए ।

उनले भने, नेपालमा सम्भावना नै सम्भावना छ । यो सम्भावनाको सन्देश देश भरी फैलाउन जरुरी छ । यहाँ पर्यटन जडीवुटी , ऊर्जा र पर्यावरण र उद्योग धन्दाको सम्भावना छ । प्रधानमन्त्री दाहालले भने,‘यति राम्रो सम्भावना भएको देश हुँदा हुँदै पनि नेपालमा केही हुन सक्दैन भन्ने भाव बनाउन खोजिएको छ यसले राम्रो सन्देश गएको छैन ।’ देश पछाडि नै परेको भए पनि नेपाली गौरवशाली भएको बताए ।

श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला अरु सबै प्रदेशमा आयोजना गर्ने जानकारी दिए । श्रमाधान रोजगार मेलाले दिने नतिजा सरकारका लागि महत्वपूर्ण हुने भन्दै उनले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने, विदेशबाट फर्किएका नागरिकहरुलाई स्वदेशमा सीपयुक्त बनाउने माध्यम र सुझावका लागि मेला आयोजना गरिएको बताए ।

सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । हरेक प्रदेशमा दुईरदुई दिन हुने मेला कोशी प्रदेशको विराटनगरमा सुरू भएर जेठ ३० गते बागमतीको ललितपुरमा सकिने छ ।