आज विश्व वन्यजन्तु दिवस “वन्यजन्तु संरक्षणमा वित्त: मानव र पृथ्वीमा लगानी” भन्ने नाराका साथ संसारभर मनाइँदै छ। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम् पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो। पछिल्लो समय मानव र वन्यजन्तुका बीच द्वन्द्व बढ्दै गएको छ। उनीहरूको वासस्थल प्रत्येक दिन अतिक्रमणको चपेटामा पर्दैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार वन्यजन्तुहरूको वासस्थान मुख्यतया प्राकृतिक वनजंगल, घाँसे मैदान र नदी तटीय क्षेत्र हो।
आचार्यका अनुसार, मानव र वन्यजन्तु बीचको द्वन्द्व बढ्दै गरेको क्रमलाई मध्यनजर गर्दा, परापूर्वकालदेखि वन्यजन्तुहरूले प्रयोग गरिरहेको वासस्थान, मुख्यतः वनजङ्गल क्षेत्रमा, पछिल्लो दशकमा मानव बस्तीहरू विकास भई सो क्षेत्रमा मानवीय उपस्थितिका कारण मानव र वन्यजन्तु नजिक आइसकेपछि एक आपसमा द्वन्द्व देखिएको छ।
उनका अनुसार, वन्यजन्तुहरूको व्यवहार आफ्नो वासस्थानमा आहाराको लागि विचरण गर्ने हो। केही ठूला प्रजातिहरूले ठूलो क्षेत्रफलमा विचरण गर्नुपर्ने हुन्छ। हात्ती, बाघ जस्ता ठूला प्रजातिहरूको विचरण क्षेत्र विशाल हुन्छ। साना प्रजातिहरूलाई भने ठूलो क्षेत्र आवश्यक पर्दैन।
मानव र वन्यजन्तु एक-अर्काको वासस्थानमा प्रवेश गर्दा द्वन्द्व देखिन्छ। मानव बुद्धिमान र विवेकशील भएकाले वन्यजन्तुको तुलनामा बढी जिम्मेवार हुनुपर्छ। वन्यजन्तुले आफ्नो शत्रु र मित्र छुट्याउन सक्दैन, तर मानिसले वन्यजन्तुलाई जिस्क्याउने, लखेट्ने, आक्रमण गर्ने वा आगो लगाउने जस्ता शत्रुतापूर्ण व्यवहार गर्दा वन्यजन्तुले आफ्नो सुरक्षाको लागि आक्रमण गर्न सक्छ, जसले द्वन्द्व बढाउँछ।
द्वन्द्व न्यूनीकरणका उपायहरू:
१. वन्यजन्तुको बानी-व्यवहारको बारेमा जानकारी लिने र विचरणको समयमा होहल्ला नगर्ने, नजिस्क्याउने गर्दा उनीहरू छिट्टै जङ्गलमै फर्कन्छन्।
२. मानवले विवेक प्रयोग गरेर वन्यजन्तुसँगको नजिकीमा सावधानी अपनाउनुपर्छ।
३. वन्यजन्तुका लागि जङ्गलमा पर्याप्त आहाराको व्यवस्था गर्दा उनीहरू गाउँबस्ती र कृषि बालीमा आउने आवश्यकता कम हुन्छ।
४. मानव बस्ती नजिक वन्यजन्तु आउने वातावरण सिर्जना हुन नदिने।
५. वनपैदावार संकलन गर्दा वन्यजन्तुको उपस्थिति बारे सचेत रहने र उज्यालो समयमा वा समूहमा मात्रै प्रवेश गर्ने।
६. नेपाल सरकारले वन्यजन्तुको बाहुल्य क्षेत्रलाई निकुञ्ज या आरक्षणको रूपमा घोषणा गर्ने नीति अपनाएको छ।
७. वन्यजन्तुबाट हुने क्षतिको उचित राहत प्रदान गर्ने, जसले गर्दा स्थानीयहरूमा नकारात्मक भावना नबढोस्।
८. स्थानीय बासिन्दाहरूले जङ्गल हुर्काउने, बाहिरै घाँस रोपण गर्ने र अन्य आय आर्जनका उपायहरू खोज्ने।
आज विश्व वन्यजन्तु दिवसको अवसरमा हामी सबैले मानव र वन्यजन्तु बीचको सह-अस्तित्वलाई सम्मान गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न जरुरी छ।