फिचर समाचार स्थानिय

वैदेशिक रोजगारीबाट फर्किएका संखुवासभाका सिताराम गाउँमा नि:शुल्क पढाउँदै

संखुवासभाको धर्मदेवी–५ का सीताराम नेपाल अर्थात् ‘सिताराम सर’ २०५६ साल देखि शिक्षण पेशामा आबद्ध भए ।

झापा काकडभिट्टा, बनियानी, मोरङको बिराटनगर, नवलपरासीको बर्दघाट अनि काठमाण्डौका विभिन्न स्कुल पढाइसकेका एक अब्बल शिक्षक हुन् नेपाल ।

शिक्षण पेशालाई थाती राखेर २०११ डिसेम्बर २० देखि २०१५ जुन १५ सम्म रोजगारीको राम्रो अवस्था खोज्दै साउदी अरब पुगेर एचआरको रूपमा काम गर्न थाले ।

साउदीमा रहदा पनि विभिन्न सामाजिक सेवा गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को वरिष्ठ उपाध्यक्ष भूमिका पनि निभाए । साउदीबाट नेपाली फर्किए पछि उनी फेरि कतार गएर त्यहाँ पनि तीन वर्ष आइटीको क्षेत्रमा काम गर्दागर्दै कतार बाट त्यही कम्पनिमा दुबई पुगे ।

दुबईमा पनि केही समय काम गरे त्यसपछि नेपाल फर्किएर पुन: शिक्षण पेशामा नै आबद्ध भए । यसअघि संखुवासभा जिल्ला बाहिरका विद्यालयमा पढाएका उनले यस पटक भने आफ्नै जिल्लामा अध्यापन गराउदै आएका छन् । खाँदबारी नगरपालिका ७ नयाँ बजारमा रहेको अरुण भ्याल्ली पब्लिक स्कुलमा चार वर्षदेखि अध्यापन गराउँदै आइरहेका छन् ।

‘तीन वर्ष, साउदी तीन वर्ष कतार र एक वर्ष दुबईमा रोजगारी गरेर फर्किएका उनी भन्छन, अहिले म नि:शुल्क बिज्ञान र गणित ट्युसन पढाउँदैछु भरसक १०० जना सम्मलाई पास गराउन सकौँ भन्ने उद्देश्यले नि:शुल्क ट्युसन क्लास सुरू गरेको छु ।’

बिहानको खाली समयको सदुपयोग गर्दै अहिले यो नि:शुल्क कक्षाको लक्ष्य बिगृएको शैक्षिक गुणस्तर उकास्ने अभियान र गणितमा अधिकांश विद्यार्थी फेल हुने गरेकोले यसलाइ सुधार्ने अभियानमा आफू लागेको बताए ।

अहिले कक्षा १० मा अध्यानरत ६५ जना बिद्यार्थीहरूलाई नि:शुल्क रूपमा पढाई रहेको उनले बताए । अब चाहिँ नयाँ विद्यार्थी लिन बन्द गरेको छु, कोही अर्को एक शिक्षक दिनको मात्र एकघण्टा सुत्ने समयमा पढाउन सक्छु नि:शुल्क भन्ने भेटे भने अरु नयाँ विद्यार्थी थप्ने छु,’ उनले भने ।

अहिले खाँदबारिको मंगलादेवी मावि तीनपोखरी, बागेश्वरी मावि ढुङ्गेधारा, हिमलाय मावि, सरस्वती मावि माल्टाकालगायतका विद्यार्थीहरू नि:शुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए । ‘विद्यार्थीलाई गणित र बिज्ञानमा अब्बल बनाउन कक्षा सञ्चालन गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार हुने आपेक्षा गरेको छु,’ उनले थपे ।

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांश बालबालिका राम्रो अंक ल्याउनबाट वञ्चित नहुन् भन्ने उद्देश्य हो ।

शिक्षा बिना जीवन परिवर्तन गर्न असम्भव रहेको बताउँदै उनले विद्यार्थीहरू मेहनत गरेर पढ्न अनुरोध गरेका छन् । उत्कृष्ट ग्रेड ल्याए मात्र विद्यार्थीले आफ्नो भावी लक्ष्य हासिल गर्नसक्ने उनको भनाइ छ ।