फिचर समाचार

संखुवासभाको नुनढाकी घर भएका गुरुङ परिवार धनकुटामा मृत फेला

धनकुटा नगरपालिका-१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । संखुवासभा चैनपुर स्थित नुनढाकी स्थायी घर भएका ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेका हुन् ।

टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको स्थानीय गौतम थापाले जानकारी दिए । ‘वुवा, आमा र छोरा मृत भेटिएका छन् ।

गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएका थिए । ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् । छोरी आशिकाले घरमा बुवाआमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना बहिरिएको हो ।

राती करिब १ बजे घटना भएको अनुमान गरिएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गर्दै। श्रीमती र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।