कोशी प्रदेश पर्यटन फिचर समाचार स्थानिय

सडक दुर्घटना न्यूनीकरण कार्ययोजना अन्तिम चरणमा : मन्त्री भण्डारी

विराटचाेक/  सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले बताउनुभएको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयले कामको अन्तिम तयारी गरिरहेको र त्यसमा यातायात मजदुर तथा व्यवसायीहरू र सरोकारवालाहरूसँग छलफल गरेर कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताउनुभयो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सडक सुरक्षा सचेतना जागरण अभियानको शुभारम्भ कार्यक्रममा आइतबार इटहरीमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सडक दुर्घटना न्यूनीकरण सबैको साझा विषय भएको बताउनुहुँदै मजदुर संगठनहरूले अभियान शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा सडक दुर्घटनाको वर्तमान चित्रसहितको सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कोशी प्रदेशभरी सञ्चालन गरिने सडक सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रमको योजना प्रस्तुत गर्नुभएको थियो।

अभियानमा दुईवटै संगठनका प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरूले प्रत्येक महिना दुईवटा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने योजना निर्माण गरिएको छ। प्रस्तुत कार्यक्रमअनुसार एक महिनामा दुई प्रशिक्षण गरिने योजना छ, जसअन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरू र महासंघ आबद्ध व्यवसायी संघहरूले प्रत्येक १५ दिनमा प्रशिक्षण गर्नेछन्। ट्राफिक प्रहरीले खटाएको प्रशिक्षकबाट चालक, सहचालक, परिचालक र व्यवसायी सम्मिलित प्रत्येक कक्षामा २५ जनालाई प्रशिक्षण प्रदान गरिनेछ।

त्यस्तै बढीमा एक घण्टाको प्रशिक्षणमा औपचारिक र भाषण नगर्ने सिकाइमा केन्द्रित गर्ने, प्रशिक्षण श्रव्यदृश्य सामग्रीमार्फत दिइने र सडक दुर्घटना सचेतनासम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरूमार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीको सहकार्य रहेको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा भीमज्वाला राईसहित कोशीमा सडक दुर्घटनाको वर्तमान अवस्थाका बारेमा प्रहरी निरीक्षक शुभेष अधिकारीले विषय प्रस्तुत गर्नुभएको थियो।

गौरीलाको अध्यक्षतामा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआइजी राजन अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, एनटियुसीका केन्द्रीय उपाध्यक्ष ज्योति कोइराला, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राईलगायतले दुईवटै कार्यपत्र र अभियानप्रति सुझाव पेश गर्नुभएको थियो।