कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सर्वसाधारणकाे लगानी जाेखिम न्यूनीकरण गर्न शेयर बजार सम्बन्धी शिक्षा

विराटचाेक: सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा शेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आइतबार शेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । नेपाल उद्योग वाणिज्य महासंघको समन्वय र नेपाल धितोपत्र बोर्डको सहजीकरणमा यो शेयर मार्केट शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको हाे ।

कार्यक्रममा वित्तीय साक्षरता, वित्तीय बजार, नियामक निकाय, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको महत्त्व, प्राथमिक बजार, दोस्रो बजार, जोखिम र प्रतिफल जस्ता विषयमा सहजीकरण गरिएको थियो। विशेषगरी सर्वसाधारणको लगानी जोखिम न्यूनीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको बताइएको छ।

“विगत होइन, भविष्य हेरेर शेयर बजारमा लगानी गरौं। बुझौं, जानौं, सिकौं अनि लगानी गरौं” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, उद्योगी, व्यापारी र शेयर लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठ र उपकार्यकारी निर्देशक नारायण शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सहभागीले पनि जिज्ञासा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले शेयर कारोबार विद्यार्थीहरूका लागि राम्रो अवसर हुने बताउनुभयो। उहाँले लगानीकर्ताहरूलाई कम्पनीको अध्ययन गरेर मात्र शेयर बजारमा लगानी गर्न सुझाव दिनुभयो। साथै, आगामी दिनमा सबै पालिकामा एकाउन्टेन्ट सम्बन्धी तालिम आयोजना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले प्लस टु सकेपछि विदेश जाने विद्यार्थीहरूको सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको थियो। निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने महासचिव हरि कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।