फिचर समाचार

सहकारी ठगी प्रकरणमा गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध कारण देखाऊ आदेश जारी

सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाऊ आदेश दिएको छ ।

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवै जनालाई कारबाहीको माग गरेर अधिवक्ता अनुपम भट्टराईले रिट दिनुभएको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेशसहित दुवै जनालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

यस्तै सर्वोच्चले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपि पेश गर्न पनि आदेश दिएको छ । यो रिटको छिनोफानो तत्कालै गर्नुपर्ने भन्दै सर्वोच्चले अर्को पेसि यही जेठ २८ गतेका लागि तोकेको छ ।