कोशी प्रदेश फिचर विचार विचार शिक्षा समाचार सूचना प्रबिधि

सामाजिक सञ्जाल: टाढाको साथी, नजिकको दूरी

आजको संसारलाई प्रविधि बिना कल्पना गर्नै कठिन छ। बिहान आँखा खुल्नासाथ मोबाइलको स्क्रिनमा नजर जाने, दिनभर कहिले फेसबुक, कहिले इन्स्टाग्राम, कहिले टिकटक स्क्रोल गर्ने, अनि राति सुत्नु अघि पनि फोनमै टाउको गाड्ने हाम्रो बानी बनिसकेको छ। सामाजिक सञ्जालले टाढाको सम्बन्धलाई नजिक ल्याइदिएको छ। विदेशमा रहेका आमाबाबु अब केवल फोनको घन्टी मात्र होइन, भिडियोमा देखेर सन्तानसँग कुरा गर्न सक्छन्। पुराना साथीहरू जसलाई भेट्ने आशा हराइसकेको थियो, सामाजिक सञ्जालमार्फत फेरि जोडिन्छन्। ज्ञान, सूचना र अवसरका अनगिन्ती ढोका यसले खोलिदिएको छ। किसानले खेतमा उब्जेको फलफूल नै फेसबुकमार्फत ग्राहकसम्म पुर्याउन सक्छन्, विद्यार्थीले आफ्नै गाउँबाट संसारकै महान् शिक्षकसँग ज्ञान लिन सक्छन्। एउटा क्लिकले मान्छेलाई संसारसँग जोडिदिएको यो चमत्कारी माध्यमलाई कसरी नमान्ने?

तर, यो उज्यालोको छायाँ पनि उत्तिकै गहिरो छ। समाजमा यस्ता धेरै घरहरू देखिन्छन्, जहाँ एउटै छानामुनि परिवार बस्छ तर हृदयबीचको दूरी बढ्दै गएको छ। आ-आफ्नो मोबाइलमा डुब्ने बानीले पारिवारिक हाँसो हराइसकेको छ। कतिपय दम्पतीको सम्बन्धमा अविश्वास, झगडा, र विच्छेदसम्मको अवस्था आएको छ। कारण केवल सामाजिक सञ्जालमै जन्मिएको भर्चुअल सम्बन्ध। बालबालिकाको संसार पनि मोबाइलको पर्दाभित्रै सीमित हुँदै गएको छ । बाहिर खेल्ने ठाउँ छन् तर खेल्ने मान्छे छैनन्। पढाइमा चासो घट्नु, आँखामा समस्या आउनु, र व्यवहारमा चिडचिडोपन बढ्नु सामान्य जस्तै देखिन थालेको छ। कतिपयको घरको उज्यालो मोबाइलले मात्र चम्किन्छ, तर परिवारको अनुहारमा हाँसो हराएको छ।

सामाजिक सञ्जालको अर्को नकारात्मक असर भनेको”तुलना र प्रतिस्पर्धा”। इन्टरनेटमा देखिने जीवनशैली प्रायः यथार्थ हुँदैनन्, तर हामी ती चम्किला तस्बिरसँग आफ्नो वास्तविक जीवनलाई तौलिन्छौँ। अरूको रमाइलो, सुन्दरता, घुमघाम वा धन-दौलत देखेर आफ्नै जीवन निराश र असफल लाग्छ। यसरी अनावश्यक तुलना गर्दा आत्मविश्वास घट्छ, डिप्रेशन र एक्लोपनाले गाँज्छ। त्यसमाथि, हल्ला र अफवाह सामाजिक सञ्जालमा बिजुलीभन्दा छिटो फैलिन्छ। गलत सूचना पत्याएर साझा गर्ने बानीले समाजमा द्वन्द्व र अविश्वास बढाउँछ। कसैले फोटो दुरुपयोग गर्छन्, कसैलाई ब्ल्याकमेल गर्छन्, कसैले बैंकको डाटा ह्याक गर्छन्। यी सबै घटनाले मानिसलाई त्रासमा पार्छन्। सामाजिक सञ्जाल जहाँ एकातिर आत्म-अभिव्यक्तिको स्वतन्त्रता दिन्छ, त्यही ठाउँमा जीवनलाई जालझेलमा फसाउने जाल पनि बुनिन्छ।

यद्यपि दोष प्रविधिको होइन, दोष हाम्रो सोच र बानीको हो। सामाजिक सञ्जाल पानीजस्तै हो। थोरै प्रयोग गरियो भने जीवनमा ताजगी ल्याउँछ, तर नियन्त्रण गुमायो भने बाढी भएर विनाश ल्याउँछ। यसलाई जीवनको मालिक होइन, सहायक बनाउनुपर्छ। त्यसका लागि आत्मअनुशासन र सचेतता अपरिहार्य छ। मोबाइल प्रयोगको समय सीमा तोकौँ, बेकारको स्क्रोलिङ घटाऔँ, र प्रत्यक्ष संवादमा फर्किऔँ। बालबालिकालाई पनि केवल मनोरञ्जन नभई सिकाइ र सिर्जनशीलतामा केन्द्रित गराऔँ। हामीले आफ्ना भावना, खुशी र समय सामाजिक सञ्जालको स्क्रिनमा मात्र होइन, वास्तविक जीवनमा प्रियजनसँग बाँड्नुपर्छ। याद गरौँ, मानिसको हाँसो इमोजीभन्दा बढी सुन्दर हुन्छ, अनि साँचो साथ डिजिटल फ्रेन्ड रिक्वेस्टभन्दा बढी मूल्यवान् हुन्छ।

अन्त्यमा, सामाजिक सञ्जाल हाम्रो जीवनलाई सहज बनाउन आएको हो, तर यदि सचेत भएर प्रयोग गरिएन भने यसले सम्बन्धमा दूरी ल्याउँछ, मानसिक स्वास्थ्य बिगार्छ, र समय खेर फाल्छ। यसको सदुपयोगले टाढाको सम्बन्ध नजिक ल्याउँछ, ज्ञान र अवसरको ढोका खोल्छ, र जीवनलाई समृद्ध बनाउन मद्दत गर्छ। तर दुरुपयोगले उज्यालोलाई अन्धकार मात्र बनाउँछ। त्यसैले, प्रविधिलाई हामीले चलाउनुपर्छ, प्रविधिले हामीलाई होइन। सामाजिक सञ्जाललाई साथी बनाऔँ, शत्रु होइन, तब मात्र यसले हाम्रो जीवनलाई साँचो उज्यालोले भरिदिनेछ।