कृषि-बातावरण फिचर समाचार

सालक संरक्षणका विषयमा चर्चासंगै संरक्षणमा लाग्ने अभियान्तालाई सम्मान

विराटचाेक:  मोरङको केराबारी गाउँपालिका ५ मा शनिबार सालक संरक्षणका विषयमा चर्चा संगै संरक्षणमा लाग्ने अभियान्तालाई सम्मान गरिएको छ ।

विश्व सालक दिवसका अवसरमा प्रगति चोकमा रहेकाे कन्टेनर हाउसमा आयोजित कार्यक्रममा सरोकारवाला वक्ताहरुले आफ्नो क्षेत्रबाट संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नमुना फर्माकल्चर सिकाई थलो, तम्मर फर्माकल्चर सिकाई थलो र भर्टिकल बायोडाईभर्सिटी फण्डकाे आयाेजनामा कार्यक्रम भएको थियो ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । तर नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइने भए पनि अहिले यसकाे संख्या घट्दै जानू चिन्ताकाे विषय भएको सहभागी वक्ताहरूले बताए ।

केही वर्ष पहिलेसम्म केराबारीमा पनि धेरै सालक पाईने गरेकाे र पछिल्लो समय सालक देखिन छाडेका छन् । वन क्षेत्रमा काम गर्ने हेरालु, सुरक्षा गार्ड, र घाँस दाउरा गर्ने व्यक्तिले सालककाे दुलाे भेट्ने गरेकाले यसैलाई सालक रहेको अनुमान गरिएको सालक संरक्षण क्षेत्रमा कामगर्दै आएका नमूना फर्माकल्चरका अध्यक्ष कुमार बिश्वकर्माले बताए ।

केराबारी गाउँपालिकाले सङ्कटापन्न सालक संरक्षण गर्ने उदेश्यले  “समुदायमा आधारित सालक संरक्षित विशेष क्षेत्र व्यवस्थापन कार्यविधि २०८०” ल्याएर काम गर्दै गरेकाे प्रवक्ता नारायण भुजेलले बताए । समुदाय स्तरबाट नै चाेरी सिकारी वा निकासीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न याे कार्यविधि ल्याईएकाे उनकाे भनाइ छ ।

केटिके बेल्ट देशीय प्रतिनिधि प्रमोद लिङ्गदेनले हरेक पाँच मिनेटमा सालक मरिरहेको भन्दै यसलाई संरक्षण गर्नुपर्ने बताए । उनले भने “सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ।  सालकले एक दिनमा दुई लाखसम्म कमिला र धमिरा खाने गर्दछ। त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे। यसले जमिन खोस्रेर उर्वरा बनाउँछ। यसैकारण सालक जोगाउन आवश्यक छ।”

कार्यक्रम लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र लावतीले आफ्नो नगरमा पनि सालक संरक्षण गर्न अभियान लिएर आउन आग्रह गरेका छन् । याे कार्यक्रममा आएर धेरै बुझ्ने र केही सिक्ने माैका पाएकाे भन्दै आफ्नो नगरले पनि याे विषयलाई विषेश रूपमा उठाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथि काेशी प्रदेश सांसद खड्ग बस्नेतले सालल संरक्षणमा आफ्नो तर्फबाट वन मन्त्रालयसंग समन्वय गरेर आफ्नो क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मिक्लाजुङ, लेटाङ र केराबारीकाे चुरे क्षेत्रमा पाईने भएकाले यसकाे संरक्षणमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए

यसैगरी कार्यक्रममा सालक संरक्षणमा लाग्ने अभियान्तालाई सम्मान गरेको छ । विभिन्न क्षेत्रबाट यसमा लाग्ने अभियान्ता धन वहादुर तामाङ, समीक्षा राई, रबि कट्टेल, टीका भण्डारीलाई सम्मान गरेको हाे ।  दिवसको अवसरमा बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रममा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निराैला, केराबारीका विभिन्न वडाका वडाअध्यक्षहरू, विभिन्न सिकाई थलाेका प्रमुख प्रतिनिधि,  कवि, पत्रकार स्थानीय लगायतको  उपस्थिति रहेकाे थियाे ।  नमूना फर्माकल्चरका अध्यक्ष कुमार बिश्वकर्माकाे सभापतित्वमा भएको कार्यक्रमकाे संचालन भने ममता पराजुलीले गरेकी थिईन् ।