कोशी प्रदेश फिचर विचार शिक्षा समाचार सूचना प्रबिधि स्थानिय

सुकुना क्याम्पसका ६ जना विद्यार्थीले ल्याए त्रिवि वार्षिक परीक्षामा उत्कृष्ट अङ्क

विराटचाेक : त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले उत्कृष्ट अङ्क ल्याएका छन् । 

२०८१ सालकाे वि.वि.एस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालभरिका क्याम्पसहरूबाट तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र योगेश कार्कीले ७७ प्रतिशत ल्याएर उन्नाइसौं स्थानमा नाम लेखाएका छन्।

विज्ञान संकाय (बी.एस.सी) तर्फ दीया घिमिरेले ८५.४ प्रतिशत अङ्क ल्याई देशभर दोस्रो स्थान प्राप्त गरेकी छिन्। समीक्षा पौडेलले ७३.२ प्रतिशत अङ्क ल्याई २१औं स्थान हासिल गरेकी हुन्।

उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई क्याम्पसले मंगलबार एक कार्यक्रमका बीच बधाई र शुभकामना दिएको छ। सो अवसरमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, विभागीय प्रमुख तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई सम्मान सहित बधाई शुभकामना दिएका थिए । 

त्रिभुवन विश्वविद्यालयले हालै उत्कृष्ट अङ्क ल्याउने ३० विद्यार्थीको नाम सार्वजनिक गरेको थियो। सोही सूचीमा समावेश भएका विद्यार्थीहरूलाई क्याम्पसले थप सफलताको शुभकामना दिएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो।

सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरूले परीक्षा परिणाममा मात्र होइन, सरकारी सेवा, नेपाल प्रहरी तथा विभिन्न आयोगले लिने परीक्षाहरूमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन्।