फिचर शिक्षा समाचार

सुकुना क्याम्पसमा कविता गोष्ठी सम्पन्न

विराटचाेक: सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा, मोरङको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा शुक्रबार विद्यार्थीहरूबीच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविता वाचन गरेका थिए।

अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताकाे मूल्याङ्कन उपप्राध्यापक दीपक गौतम र शिक्षण सहायक बालकृष्ण गौतमले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बी.एड. प्रथम वर्षका प्रकाश कार्की प्रथम, बी.बी.एस. तेस्रो वर्षका प्रकाश न्यौपाने द्वितीय, बी.बी.एस. तेस्रो वर्षका सत्तिस कार्की तृतीय र बी.बी.ए. सातौँ सेमेस्टरका देवराज पौडेल सान्त्वना भएका छन् । उनीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमको सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेको जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले दिएका छन्।

यस कार्यक्रमले विद्यार्थीहरूको साहित्यिक प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ। यस्ता रचनात्मक गतिविधिहरूले विद्यार्थीहरूको बौद्धिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए ।