शिक्षा समाचार

सुकुना क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन तालिम सम्पन्न

विराटचोक: विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणत्मक तथ्याङ्क व्यवस्थापन तालिम सम्पन्न भएको छ । जेठ १० गतेदेखि तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी थिए ।  विहीबार विहान क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घटन गरिएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सम्बोधन गरेका थिए । गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कलन, व्यवस्थापन, व्याख्या र विश्लेषण गर्ने क्षमताको विकास गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको कुरामा जोड दिँदै सहभागी सबैलाई सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले स्वागत गरेका थिए ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरका सहप्राध्यापक डा. सुरेश गौतम र सुकुना क्याम्पसका सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङले विषयविज्ञका रुपमा तीन दिन सहजीकरण गरेका थिए । कार्यक्रममा सहजकर्ता द्वयले परिमाणात्म अनुसन्धान र गुणात्मक अनुसन्धान बिचको फरक र गुणात्मक अनुसन्धानको महत्त्वका सैद्धान्तिक विषयमा छलफल गराएका थिए ।

गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कन गर्ने विधि तथा तरिका, नैतिक पक्षहरू, तथ्याङ्कको व्यवस्थापन, तथ्याङ्कको छलफल एवम् व्याख्या र विश्लेषण गर्ने तरिकाका विषयमा दुई दिनसम्म विभिन्न आठ समूहमा कार्यशाला सञ्चालन गरी समूहहरूबाट प्रस्तुतीकरण गरएको थियो ।

शनिबार दिन कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूले तालिम/कार्यशालामा प्राप्त विषयमा प्रतिविम्बन गरेका थिए । उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन आयोजक समितिकी संयोजक उषाकिरण वाग्लेले गरेकी थिएन् । कार्यक्रमको सिङ्गो व्यवस्थापन क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी सुकुना)ले गरेको र यस कार्यक्रमबाट गुणात्मक अनुसन्धान गर्न सक्ने ज्ञान मिलेको सहभागीहरूले बताएका छन् ।