फिचर शिक्षा समाचार

सुकुना क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई साँस्कृतिक कार्यक्रम गरी भब्य स्वागत 

विराटचाेक / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजना शुक्रबार विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको हो । 

कार्यक्रममा  प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै नवआगन्तुत विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा क्याम्पसले विद्यार्थीमा रहेका सिप‚ ज्ञान र क्षमतालाई प्रोत्साहन गर्दै क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्र बनाउने गरी योजना तर्जुमा गरिएको बताउनु भएको थियो ।

त्यसैगरी क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो बनाउने कार्यमा विद्यार्थीहरूको साथ सहयोगको अपेक्षा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अनेरास्ववियुका योगेश दाहाल,अखिल क्रान्तिकारीका सत्तीस कार्की , नेविसंघका विजय ओझा र अनेरास्ववियूका रोहन खत्रीले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय रुपमा ख्यातिप्राप्त हाँस्यव्यङग्यका सम्राट मनोज गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारी, पूर्वविद्यार्थी‚अभिभावक समेतकाे उपस्थिति रहेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्ववियु उपाध्यक्ष भोजराज रिजालले सबै सहभागिलाई स्वागत गर्नु भएको थियो  ।  दुई चरणमा सञ्चालन गरिएको स्वागत कार्यक्रमको पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ‌ओझाले गर्नुभएको थियो  भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य मधु घिमिरेले गर्नुभएको थियो  ।