फिचर शिक्षा समाचार

सुकुना क्याम्पसमा विज्ञान‚ प्रविधि र व्यवसायिक प्रदर्शनी

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसको आयोजनामा तीन दिने विज्ञान‚ प्रविधि र व्यवसायिक प्रदर्शनी शुरू भएको छ ।
क्याम्पस प्राङ्गणमा कोशी प्रदेशका उद्योग‚ कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले रोवर्टबाट रिवन काटेर उत्त कार्यक्रमकाे उदघाटन गरेका थिए । मन्त्री खत्रीले कार्यक्रमको सफलताको कामना गर्दै व्यवसायिक क्षेत्रले गर्ने व्यापार प्रदर्शनी भन्दा क्याम्पसले बहुआयामिक क्षेत्रमा गरेको प्रदर्शनी अब्बल रहेकोमा खुसि प्रकट गरे।


क्याम्पसले आयोजना गरेको उक्त कार्यक्रमको सबै व्यवस्थापन क्याम्पसका बिबिए‚ बिएस्सि‚ बिएड विज्ञान‚ बिबिएस‚ बिएड र बिएमा अध्ययनरत विद्यार्थीहरूले गरेकाे सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । उनले विज्ञान‚ प्रविधि र व्यवसायिक क्षेत्रका ५० स्टलहरू कायम गरिएकोमा पहिलो दिन १५ हजारभन्दा बढि सहभागीहरूले अवलोकन गरेकाे उल्लेख गरे ।
उद्घाटन समारोहमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बू‚ सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका महासचिव नारायण कार्की‚ सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल गोविन्द कार्की , लेटाङ बहुमुखी क्याम्पसका प्रमुख राम बराल‚ पूर्वमन्त्री राजकुमार ओझा र सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले शुभकामना मन्तव्य राखेका थिए । शुभकाना मन्तव्य प्रस्तुत गर्ने क्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख डिपि राईले विद्यार्थीले गरेको सिर्जना‚ त्यसको सुव्यवस्थित प्रस्तुति र व्यवसायीहरूको सक्रिय सहभागिता यस ठाउँका लागि नौलो भएकोमा आफू प्रभावित भएको बताए ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले SMC INNOVEX 2080 को औचित्य प्रष्ट्याउँदै फागुन २१‚ २२ र २३ गतेसम्म प्रदर्शन गरिने कार्यक्रममा अवलोकन गर्न सबैलाई आमन्त्रण गरेका थिए ।
त्यसैगरी बिबिएकी छात्रा रोजिना राउतले सञ्चालन गरेको प्यालन छलफलमा युवा व्यवसायी उत्सव थापा र रोमन कट्टेलले सीप सिर्जना तथा व्यवसायिक सफलताका अनुभवहरू प्रस्तुत गरी सहजीकरण गरेका थिए । उक्त प्यानल छलफलमा २ सय भन्दा बढि विद्यार्थीहरू सहभागी भएको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए। उक्त कार्यक्रममा अपरान्ह ३ बजे पछि सांस्कृतिक कार्यक्रम सहित पहिलो दिनको प्रदर्शनी समापन भएको जानकारी उपप्राध्यापक खगेन्द्रराज दहालले गराएका छन् ।
उद्घाटन सत्रको कार्यक्रममा विद्यार्थीको तर्फबाट बिबिए छैटौँ सिमेष्टरका विद्यार्थी एवम् प्रदर्शनी व्यवस्थापन समितिका संयोजक एलिस ओझा र क्याम्पसको तर्फबाट सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बिबिए छैटौँ सिमेष्टरका विद्यार्थीहरू क्रमशः देवराज पौडेल र प्रेक्षा अधिकारीले गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रममा जनप्रतिनिधिहरू‚ क्याम्पसका विद्यार्थी‚ प्राध्यापक तथा कर्मचारीहरू‚ अभिभावक‚ सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरू‚ स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो ।