फिचर शिक्षा समाचार स्थानिय

सुकुना क्याम्पसमा QAA का लागि विश्वविद्यालय अनुदान आयोगको टोलीद्वारा अनुगमन

विराटचाेक / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको विज्ञ टोलीद्वारा दाेस्रो चरणकाे QAA का लागि अनुगमन तथा भ्रमण गरिएको छ ।

उत्त कार्यक्रममा पुस २२ बाट पाँच दिन सम्म क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदनसमिति‚ क्याम्पस प्रशासन‚ विभागीयप्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरू सँग बसेर छलफल‚ अन्तर्क्रिया‚ प्रश्नोत्तर गरिने उल्लेख गरिएको छ ।

टोलीले क्याम्पसका नीति‚ नियम‚ निर्देशिका‚ कार्यक्रम‚ अभिलेख‚ अनुसन्धान क्रियाकलाप‚ पठनपाठन‚ कार्यालय सञ्चालन‚ भौतिक पक्षको अनुगमन र मूल्याङ्कन गर्ने भएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए ।

उक्त टोलीमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँको संयोजकत्वमा प्रा.डा. सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको QAA डिभिजन डेपुटि डाइरेक्टर भगवती पौडेल सहितका विज्ञहरू रहेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले बताएका छन् ।

यस क्रममा आइतबार अपरान्ह उक्त टोलीलाई क्याम्पसमा भव्य स्वागत गरिएको थियो । क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚ विभागीयप्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरूको उपस्थितिमा भएको स्वागत कार्यक्रम सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्व भएको थियाे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख अधिकारीले स्वागत मन्तव्य राखेका थिए । क्याम्पसको स्वमूल्याङ्कन समितिका संयोजक नरप्रसाद भण्डारीले पहिलो चक्रमा क्याम्पसले QAA प्राप्त गरेपछि र हालसम्ममा गरेका उपलब्धिहरू सहित पच्चिस वर्षे गुरूयोजनाको खाका प्रस्तुत गरेका थिए।

कार्यक्रममा टोलीका संयोजक प्रा.डा. खनियाँले पहिलेको तुलनामा क्याम्पसले गुणस्तरमा सुधार गरेकोमा सन्तोष व्यक्त गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अधिकारीले अनुदान आयोगका नीति‚नियम र मार्गदर्शनबाट आफू प्रभावित भएको भन्दै टीलीले क्याम्पसको गुणस्तर विकासका लागि सहयोग गर्ने अपेक्षा गरेको बताए ।

औपचारीक कार्यक्रमको समापन पछि विज्ञ टोलीले भौतिक पक्ष‚ विभागीय गतिविधि‚ विभागका अभिलेख र पुस्तकालयको एकसरो अध्ययन गरेको थियो । सोमबार दिनभरको कार्यक्रम पूर्वनिर्धारित तालिका अनुसार विद्यार्थीहरू‚ पूर्वविद्यार्थीहरू‚ रोजगारदाताहरू‚ शिक्षकहरू‚ विभागीय प्रमुखहरू , विभिन्न समिति तथा उपसमितिहरू सँग छुट्टाछुट्टै छलफल र अन्तर्क्रिया हुने सहायक क्याम्पस प्रमुख दहालले उल्लेख गरेका छन् ।