विराटचोक: सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङको अठारौं परिषद् बैठक सम्पन्न भएको छ। आइतबार क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो।
सो अवसरमा क्याम्पस स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, क्याम्पसमा तीन पटकसम्म अध्यक्ष हुनुभएका माननीय चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् पूर्व उपाध्यक्ष उदयनारायण काफ्ले र चन्दादाता एवम् समितिका पूर्व सदस्य मानबहादुर बस्नेतलाई प्रमुख अतिथि र विशिष्ट अतिथिबाट नेपाली टोपी, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित हुने २ जना भने कार्य व्यस्तताले आउन नसकेको र अर्को कार्यक्रममा सम्मान पत्र दिने बताईएकाे छ ।

सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिलकुमार शर्मा, कोशी प्रदेश सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं र त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईं विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यस्तै सुन्दरहरैँचा नगरपालिकाका नगरउपप्रमुख अकली चौधरी, कोशी प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझा र नगरपालिकाका प्रवक्ता रोशन ढकाल अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

परिषद् बैठकमा परिषद्का सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थी प्रतिनिधि गरी २ सय ५० जनाभन्दा बढी उपस्थित भएका थिए। परिषद् बैठकमा सञ्चालक समितिकोतर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आ.व. २०८०/०८१ को शैक्षिक, व्यवस्थापकीय, सञ्चालित शैक्षिक कार्यक्रमहरू, शैक्षणिक विधि, सिकाइ उपलब्धि, भौतिक, आर्थिक पक्षसहितको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र एक्काइस करोड अन्ठानब्बे लाख बाह्र हजार छ सय अठ्ठाइस रुपैयाँ सन्तानब्बे पैसाको अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नुभएको थियो।
उद्घाटन सत्रमा मुख्यमन्त्री कार्कीले सुकुना क्याम्पसको विकास र ख्यातिका लागि सहयोग गर्न आफू इच्छुक रहेको घोषणा गरेका थिए भने विशिष्ट अतिथिको रूपमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक तथा व्यावसायिक धारका विषयहरू सञ्चालन गर्नुपर्ने र यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसैगरी कोशी प्रदेश सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदीले क्याम्पसले प्राप्त गरेको शैक्षिक, भौतिक र व्यवस्थापकीय उपलब्धि प्रशंसायोग्य र अनुकरणीय रहेको बताएका थिए। सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाणपत्र प्राप्त भएपछि क्याम्पसले थप उचाइ प्राप्त गर्ने बताएका थिए। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईंले त्रिविले परीक्षा क्यालेन्डर लागु गरिसकेको अवस्थामा क्याम्पसमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरू अझ प्रभावकारी हुने बताएका थिए। स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूले त्रिविका विकृति र विसङ्गति औँल्याउँदै सुकुना क्याम्पसमा यस्ता विकृति नरहेको बताउनुभयो।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नुभएको थियो।