कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुकुना बहुमुखी क्याम्पसमा ‘फ्याकल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ’ सुरु

विराटचोक /  मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा फ्याकल्टी प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) को आर्थिक सहयोग तथा क्याम्पसको आयोजनामा उक्त तालिम सुरु गरिएको हो।

विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त कोशी प्रदेशका १६ वटा क्याम्पसका ३० जना प्राध्यापकहरू प्रशिक्षणमा सहभागी भएका छन्।  ६ दिनसम्म सञ्चालन हुने यो तालिम शिक्षण दक्षता अभिवृद्धि गर्दै प्राध्यापकहरूको पेसागत विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी रहनुभएकाे थियो । उहाँले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताउँदै तीन घण्टे परीक्षाको ढाँचामै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो। परीक्षा प्रणालीमा देखिएका अनियमितता तथा चोरीको घटनालाई अन्त्य गर्न गम्भीर पहल आवश्यक रहेको उहाँको भनाइ थियो। यस्ता तालिममा सहभागी क्याम्पसलाई अनुदान कार्यक्रममा समेट्ने समेत बताउनुभयो । 

विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले त्रिभुवन विश्वविद्यालयले गाउँस्तरका सामुदायिक क्याम्पसहरूमा प्राविधिक शिक्षा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिमैत्री शिक्षा प्रणाली अवलम्बन गरी विपन्न तथा ग्रामीण भेगका विद्यार्थीलाई नेपालमै अध्ययन गर्न उत्प्रेरित गर्नु आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार ह्रदयरत्न बज्राचार्यले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्ने र डिजिटल युगसँग सँगै शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार हाल देशभर ७ वटा क्याम्पसमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा सह-नियन्त्रक गोविन्द गुरागाईंले परीक्षा प्रणाली मर्यादित र व्यवस्थित बनाउनु अत्यावश्यक रहेको धारणा राख्नुभयो। केही क्याम्पसहरूमा परीक्षार्थी निस्कासनको अवस्था आउनु दुःखद पक्ष भएको उहाँको भनाइ थियो।

तालिममा १० जना विषय विशेषज्ञ प्रशिक्षकले सहजीकरण गर्ने आयोजकले जनाएको छ। क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले शिक्षण पद्धतिमा गुणात्मक सुधार ल्याउन तालिमको आवश्यकता रहेको उल्लेख गर्दै ६० घण्टे तालिमले व्यवहारमा आधारित सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अतिरिक्त क्रियाकलाप समिति संयोजक चन्द्रमणि राईले गर्नुभएको थियो।