विराटनगर । सुनसरीमा शनिबार साँझ दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा साँझ ७ः२० बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको जानकारी डीएसपी खतिवडाले दिए । गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनीहरुलाई उपचारका क्रममा चिकित्सकले राति ९ः२० बजेतिर मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर ५८६४ नम्बरको मोटरसाइकलको पछाडि सवार रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकलको पछाडि सवार इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् ।
उनीहरुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । घाइतेमध्ये प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी हुन् । दुर्घटनामा पति र छोरा गुमाएकी प्रतीक्षाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुवै मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । क्षतिग्रस्त अवस्थाका मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
