फिचर समाचार स्थानिय

सुन्दरहरैँचाकाे नीति तथा कार्यक्रम सार्वजनिक, के हाे उत्कृष्ट ढुकुर जाेडी कार्यक्रम

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  साेमबार भएको नगरको चौधौँ नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो  । 

नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख गुरागाईँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता क्रममा राखिएको बताउनुभयो ।

नगरले आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशुपंक्षी विकास र साना सिँचाइसम्बन्धी २१ वटा, पर्यटसम्बन्धी ८ वटा, उद्योग, सहकारी तथा रोजगारसम्बन्धी १४ वटा नीति लिएको छ ।

सामाजिक विकास नीतिअन्तर्गत शिक्षासम्बन्धी ३० वटा, स्वास्थ्यसम्बन्धी १२ वटा, खानेपानी तथा सरसफाइसम्बन्धी ४ वटा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी १४ वटा, भाषा, कला, संस्कृतिसम्बन्धी ३ वटा, युवा तथा खेलकुदसम्बन्धी १३ वटा नीति लिएको छ ।

सुन्दरहरैंचाले पूर्वाधार विकाससम्बन्धी नीतिअन्तर्गत भौतिक पूर्वाधारसम्बन्धी ३० वटा, सञ्चार, विद्युत तथा ऊर्जासम्बन्धी १२ वटा नीति लिएको छ । वातावरण तथा विपत् व्यवस्थापन नीतिअन्तर्गत वन, वातावरण, भूसंरक्षण, जलवायु परिवर्तन अनुकूलनसम्बन्धी १४ वटा, विपत् व्यवस्थापनसम्बन्धी ४ वटा, न्यायिक समितिसम्बन्धी १६ वटा नीति लिएको छ ।

 न्यायिक समितिसम्बन्धी नीतिको दोस्रो नीतिमा समाजमा बढ्दो सम्बन्ध विच्छेदलाई न्यूनीकरण गर्न उत्कृष्ट ढुकुर जोडी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । याे कार्यक्रम भाषण गर्दा सभा सदस्यहरू एक अर्कालाई हेर्दै हाँसेका थिए । तर कार्यक्रम राम्रो भएको एक सदस्यले बताए ।

 सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति ३१ वटा र न्यायिक समिति नीति १६ वटा लिएको छ ।