कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचाको खोसानेस्थित बागेश्वरी मन्दिरमा भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरू

विराटचोक:  मोरङकाे सुन्दरहरैँचा–१२, खोसानेस्थित बागेश्वरी भगवती मन्दिरमा यस वर्ष पनि भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरु भएको छ। आज दशैंको पहिलो दिन विधिवत् पूजापाठसहित देवी दुर्गाको मूर्ति स्थापना गरी घटस्थापना सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्घाटन वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। दुर्गा पूजा व्यवस्थापन समितिका अनुसार असोज १६ गतेसम्म धार्मिक, सांस्कृतिक तथा भक्तिमूलक कार्यक्रम सञ्चालन हुनेछन्। आज पूजा तथा कलश यात्रासहितको विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

दैनिक प्रवचन, भजन–कीर्तन, फूलपाती, नवमी तथा विजया दशमीका दिन विशेष कार्यक्रम हुने जनाइएको छ।

खोर्साने सामुदायिक विकास केन्द्रका अध्यक्ष रामकुमार प्रधानले २०६७ सालदेखि राजमार्गमा सुरु भएको दुर्गा पूजालाई अहिले व्यवस्थित ढंगले बागेश्वरी मन्दिरमा सञ्चालन गरिँदै आएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरे। यस वर्षको पूजालाई सफल बनाउन लिलाप्रसाद खतिवडा संयोजक रहनुभएको छ।

कार्यक्रममा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खा, पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष योजना शर्मा, नझेका फूलहरू कला केन्द्रका संस्थापक केपी घिमिरे, लायन्स क्लब अफ खोर्सानेकी अध्यक्ष रञ्जु सुवेदीसहित विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय भजन–कीर्तन समूह र भक्तजनहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सचिव सुजु थापाले गर्नुभएको थियो।