विराटचाेक: राइडर्स महफिल सुन्दरहरैँचाको आयोजनामा गजल महफिलसहित स्रष्टासम्मान कार्यक्रम हुने भएको छ। छन्दकवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य अतीतदर्पण पनि त्यसै समारोहमा सार्वजनिक हुने भएको छ। नेपाली भाषासाहित्यको जगेर्ना गर्ने उद्देश्यले देशका विभिन्न जिल्लाबाट प्रख्यात गजलकारहरूलाई उपस्थित गराउने पूर्व नेपालको एउटा स्थापित मञ्च राइडर्स महफिल हो। यस मञ्चले यसपटक काठमाडौबाट गजलकार रूपक वनवासी, झापाबाट गजलकार रश्मि असफल, मोरङबाट गजलकार टीका खड्का राष्ट्रप्रेमी र सुनसरी जिल्लाबाट गजलकार सुमन रेग्मी उपस्थित गराउने निश्चित गरेको छ। राइडर्स महफिल २०७७ सालमा स्थापना गरी हालसम्म छैटौं शृङ्खला समाप्त गरिसकेको छ । यो सातौं शृङ्खलाका लागि माथि उल्लेखित गजलकारहरूले आफ्ना उत्कृष्ट गजल प्रस्तुत गर्ने छन् ।
यसै कार्यक्रममा सुन्दरहरैँचा वडा नम्बर १० मा स्थाइ बसोबास गर्ने छन्दकवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य सोही समारोहमा सार्वजनिक हुने भएको छ। कवि भट्टराई लामो समयदेखि शास्त्रीय छन्दमा कविता लेख्तै आएका कवि हुन्। उनको यो पहिलो कृति प्रकाशित हुन लागेको हो। कार्यक्रममा संस्कृत भाषाका प्रकाण्ड विद्वान् पुरुषोत्तम भट्टराईज्यूको पनि उपस्थिति रहने जानकारी आयोजक राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईले जानकारी दिएका छन्।
सुन्दरहरैँचाको भौतिक विकास सँगसँगै चेतनाको पनि विकास गर्नु पर्छ भन्ने उद्देश्य सबै चेतनशील नागरिकमा हुनु पर्छ। त्यसैअनुसार भाषासाहित्य, कला, संस्कृतिका माध्यमबाट आफ्नो नगरपालिकालाई पहिचान गराउन यस्ता खालका कार्यक्रम निरन्तर गरिरहेको जानकारी सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले जानकारी दिएका छन्। उनले भाषासाहित्यको विकास भए आम नागरिकमा चेतनाको स्तर उच्च हुन्छ। अहिले देशलाई चेतनाको खाँचो रहेको र हामीले सकेसम्म चेतना विकासकै लागि भाषासाहित्यका कार्यक्रमहरू नगरपालिकाभित्र निरन्तर आफ्नै पौरखमा गर्दै आइरहेका छौँ भन्ने भनाइ राखेका छन्।
उक्त कार्यक्रम यही वैशाख २७ गते शनिवार दिनको १ बजेदेखि उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने र यस सार्वजनिक अनुष्ठानमा सम्पूर्ण सुन्दरहरैँचा नगरवासी, छिमेकी जिल्ला, पालिकाबाट गरिमामय उपस्थिति जनाइदिनु हुन अपिलसमेत गरेका छन् ।




