बिराटचौक । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा घरभित्रै गोरु काटिएको छ । गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।
मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान ११ः३० बजेतिर प्रहरी पुगेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको थियो ।
गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको उनले बताए । गोरु काटेको घटनामा संलग्न ४ जना फरार बनेका छन् । इलाका प्रहरी कार्यालयय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।
‘गोरु काटेर मासु बाँडफाँट गर्ने योजना रहेको पाइयो,’ बस्नेतले भने, ‘थप विषय अनुसन्धानपछि खुल्छ ।’ उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको यकिन भएको छ ।मुलुकी अपराध संहिता, २०७४ को दफा २८९ ले गाई गोरु मारेमा सजाय हुने व्यवस्था गरेको छ । संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैनभन्ने उल्लेख छ । त्यस्तो कार्य गर्नेलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छ ।
