विराटचाेक माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे पूर्वी भेगमा दाहसंस्कारकालागि घाट निर्माण गर्न छलफल गरिएको छ ।
शुक्रबार नगरका प्रवक्ता एवं वडा नम्बर १२ का वडाअध्यक्ष राेशनप्रसाद ढकालकाे अध्यक्षतामा, १२ नम्बर वडा कार्यालयकाे सभाहलमा छलफल भएको हाे ।
छलफलमा पूर्व राज्यमन्त्री राजकुमार ओझा, इन्द्रपुर साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईं, वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्याैपाने, राजनीतिक दल/ संघ संस्थाका प्रतिनिधि सहित स्थानीयकाे सहभागीता रहेकाे थियो ।
भेलाले छलफल पछि नवराज चापागाईंकाे संयाेजकत्वमा ९ सदस्यीय घाट निर्माण स्थल व्यवस्थापन समिति गठन गरेकाे छ । जसकाे सदस्यमा टीकाप्रसाद सुवेदी, ताेया पाेख्रेल, हाेमनाथ जमरकट्टेल, माेहनलाल श्रेष्ठ, कृष्णप्रसाद काफ्ले, रूद्र बहादुर कार्की, विश्वेश्वरप्रसाद ढकाल, राजेन्द्र प्रसाद दाहाल रहनुभएकाे छ ।
वडाध्यक्ष ढकालले लास अन्य पालिकाकाे घाटमा लादा खर्च धेरै हुने र विपन्नले लान नसक्ने अवस्था रहेकाले पूर्वी भेगमा एउटा घाट बनाउन छलफल आयाेजना गरिएको बताउनुभयाे ।
यस्तै पूर्व राज्यमन्त्री ओझाले दाहसंस्कार मात्रै नभएर भवन पनि निर्माण गर्नुपर्ने भएकाले डिपिआर गरेर बनाउनुपर्ने बताउनुभएको थियाे । यस्तै एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकालले कुनै पार्टी याे वा त्यो नभनि सबै जुटेर बनाउन लाग्नुपर्ने बताउनु भएकाे थियो । त्यसैगरी इद्रपुर खानेपानीका अध्यक्ष चापागाईंले सकेसम्म लाेहन्द्रा खाेलामा बनाउनुपर्ने भन्दै यसकालागि व्यापक छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियाे ।
छलफलका क्रममा सहभागीले कुनैबेला जल्दाजल्दै लास बगाएकाे, घामपानीमा मलामिकाे बिचल्ली हुने गरेकाे र अन्य पालिका क्षेत्रमा लास लिएर जाँदा असहज हुने भन्दै आफ्नै पालिकामा बनाउनुपर्ने धारणा राखेका थिए ।