विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिकाले जेठ १५ गते मनाइने गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो।

बैठकअनुसार, जेठ १४ गते नगर क्षेत्रका सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुनेछ भने १६ गते वडा नं. ४ मा वृक्षारोपण गरिनेछ। साथै, १५ गते सबै घरमा दीप प्रज्वलन गर्न र संघ–संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा गणतन्त्र दिवस मनाउन नगरपालिकाले आग्रह गरेको छ।

बैठकमा बोल्दै नगरप्रमुख गुरागाईंले गणतन्त्र व्यवस्था जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको बताउँदै हाल सो व्यवस्थाविरुद्ध विभिन्न गतिविधिहरू भइरहेको उल्लेख गर्नुभयो। उहाँले नागरिकलाई दिग्भ्रमित बनाउने तत्वहरूलाई परास्त गर्नुपर्ने धारणा राख्नुभयो। जन्मको आधारमा श्रेष्ठता कायम गर्ने व्यवस्था उचित नभएको भन्दै गुरागाईंले प्रणालीलाई व्यवस्थित गर्दै जनताको हितमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उपप्रमुख अकली चौधरीले गणतन्त्र ल्याउन धेरैले सहादत दिएको स्मरण गर्दै, अब पुनः राजतन्त्र फर्कनु अनुचित हुने बताउनुभयो। उहाँले गणतन्त्र प्राप्तिका लागि गरिएको संघर्षलाई स्मरण गर्दै तीन दिनसम्म दिवस भव्य रूपमा मनाउन सबैलाई आग्रह गर्नुभयो।

बैठकमा कार्यपालिका सदस्य, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, संघ–संस्था तथा विद्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।