फिचर समाचार स्थानिय

सुन्दरहरैँचामा नगर प्रहरी दीक्षान्त समारोह

विराटचाेक:   मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरको शान्तिसुरक्षा कायम गर्न नगर प्रहरी भर्ती गरी १५ दिने तालिम सम्पन्न गरेको छ। तालिम पश्चात् दीक्षान्त समारोहमा नगर प्रहरीलाई दर्जानी चिन्ह प्रदान गरिएको छ। सुन्दरहरैंचा वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले दीक्षित हुने प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक तथा जवानलाई लगनशील, कर्मठ र योग्य कर्मचारीको रूपमा आफूलाई स्थापित गर्दै उत्कृष्ट भूमिका निर्वाह गर्न निर्देशन दिए।

उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दबाब र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको स्पष्ट पारे। नगर प्रहरीलाई विधि र अनुशासनमा रहेर काम  गर्न आग्रह गर्दै नगर प्रमुख गुरागाईंले नगर प्रहरीका १२ वटा अधिकार भित्र रहेर महत्त्वपूर्ण काम गर्नुपर्ने र व्यक्ति भन्दा विधिलाई मान्नुपर्ने बताए।

स्थानीय सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको बताउँदै उनले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै, सुन्दरहरैंचा नगरपालिकाको शिर ठाडो हुने गरी काम गर्न निर्देशन समेत दिए।

नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहोर व्यवस्थापनका बारेमा तालिम दिइएको छ। यसका साथै घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण लगायतका विषयमा पनि तालिम दिइएको नगरपालिकाले जनाएको छ। नगर प्रहरीमा महिला र पुरुष गरी २० जना रहेका छन्।