मोरङ : गत राति सुन्दरहरैंचा नगरपालिकामा भएको एक सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, सुन्दरहरैंचा-७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसाम निवासी ५५ वर्षीय हुपेनर कठेतको मृत्यु भएको हो।
गम्भीर घाइते कठेतलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले कार चालक झापा दमक-१३ का ३० वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएको छ। थापामाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।