कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

सुन्दरहरैँचामा मौरी प्रवर्धन कार्यक्रम सुरु

विराटचोक । सुन्दरहरैंचा नगरपालिकाले मौरीपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रमअन्तर्गत नगरपालिकाले मौरीपालनका लागि कृषकहरूलाई घारसहितको मौरी र त्यसका सहायक सामग्रीहरू वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा कृषकहरूको समेत २५ प्रतिशत लागत सहभागितामा २५ लाख बजेटको कार्यक्रमअन्तर्गत नगरपालिकाका २१ घरपरिवारलाई २०६ वटा मौरीसहित घार र सहायक सामग्री वितरण गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिनुभयो ।

मौरीपालनका लागि इच्छुक कृषकहरूलाई कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान गरी कृषक छनोट गरेर तालिमसमेत प्रदान गरेर घारसहित मौरी र सहायक सामग्रीहरू वितरण गरिएको उहाँको भनाइ छ ।

नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकामा ठूलो मात्रामा तोरी खेती हुने गरेकाले समेत मौरीपालनको प्रचुर सम्भावना देखिएकाले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । मौरीपालनले मह उत्पादनका साथै तोरी उत्पादनमा समेत मद्दत पुग्ने भएकाले नगरपालिकाले मौरीपालनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नगर प्रमुख गुरागाईंले नगर क्षेत्रमा हात्तीको आतङ्क देखिएकाले त्यसको नियन्त्रणका लागि समेत नगरको जङ्गल क्षेत्र आसपासका कृषकहरूलाई मौरीपालनमा जोड्दै जाने जानकारी दिनुभयो ।

उहाँले सरकारले उपलब्ध गराएको मौरी र सामग्रीहरूबाट मह उत्पादन गरी भरपुर लाभ लिन कृषकहरूलाई आग्रह गर्दै दुरुपयोग भएको पाइए नगरपालिकाले गरेको लगानी असुल उपर गरिने समेत उल्लेख गर्नुभयो ।

आइतबार नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीलगायतको टोलीले नगरपालिकाले मौरी प्रदान गरेका कृषकहरू भेटी आवश्यक परामर्श प्रदान गर्नुका साथै मौरीको अवस्थाबारे अनुगमन गरेको थियो ।

नगरपालिकाले निश्चित समयमा नियमित रूपमा मौरीको अवस्थाबारे अनुगमन गर्दै जाने कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले जानकारी दिनुभयो ।