विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापनका लागि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। लुमन्ती आवासका लागि सहयोग समूहको आयोजनामा बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नगरपालिकाकाे सहकार्य र (एम.आइ.एस.इ.आर.ई.ओ.आर) काे सहयाेग रहेको थियो ।

कार्यक्रममा नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिहरूबीच आपसी समन्वय तथा जोखिम न्यूनिकरणका उपायहरूबारे अन्तरसंवाद गरिएको थियो। लुमन्ती आवासकी फिल्ड संयोजक लक्ष्मी राईले विपन्न तथा सिमान्तकृत समुदायहरूमा पर्ने विपद् जोखिम र तिनको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरीले यस्ता अन्तरसंवाद कार्यक्रमले स्थानीय सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने र विपद् पीडितहरूको अवस्थाबारे वास्तविक जानकारी प्राप्त हुने बताउनुभयो। उहाँले अझै विपद् व्यवस्थापन समिति गठन नभएका वडाहरूमा चाँडै समिति गठन गर्न आग्रह समेत गर्नुभयो।

विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीले नगरपालिकाले विपद् क्षेत्रमा गरेका कार्य, नीतिगत पहल, समितिका अधिकार र कर्तव्यहरूबारे विस्तृत जानकारी दिनुभएकाे थियो ।

यस्तै सशस्त्र प्रहरी बल, लक्ष्मिमार्गका डिएसपी कमलबहादुर अधिकारीले विपद्को समयमा प्रयोग हुने सामग्री, तिनको व्यवस्थापन र नागरिकको जनधनको सुरक्षाबारे जानकारी दिनुभयो। कार्यक्रममा सहभागीहरूले कटान, डुवानजस्ता क्षेत्रमा नगरपालिकाले विशेष चासो दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले बर्खाको समयमा राजमार्गको उत्तर क्षेत्रमा डुवानको समस्या हुने भएकाले एसियन हाईवे निर्माण गर्दा थुनिएको पानीको निकास खुला गरिनु पर्ने माग राखेका थिए।

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक भुवनसिंह मगरले खोला आसपास जथाभावी उत्खनन र तटीय क्षेत्रमा बस्ती बसाइँ बढ्दै जाँदा थप जोखिम उत्पन्न भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष, सदस्यहरू, विपद् व्यवस्थापन समितिका सदस्यहरू तथा विपद् क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
