फिचर समाचार स्थानिय

सुन्दरहरैँचामा हात्तीको आतंकले जङ्गल आसपासका स्थानीय त्रसित

विराटचोक: मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा जंगली हात्तीले तीन घरमा क्षति पुर्‍याएको छ। स्थानीय लिजा श्रेष्ठको घरको दिवाल भत्काएको र घरभित्र रहेको दराज तथा लत्ताकपडामा क्षति पुगेको छ।

खड्गमाया बरालको घरमा रहेको धान नष्ट गरिदिएको छ। एक्लै बस्दै आएकी बरालको घरमा बिहानीपख आएको जंगली हात्तीले घर भत्काएर अन्न खाएको हो। यस्तै, कृष्णदेव राईको भान्साघर भत्काएको छ।

यस क्षेत्रमा दैनिक हात्तीको आवतजावतले स्थानीयवासी त्रसित बनेका छन्। विशेषगरी बाघझोडा, त्रिवेणी चोक, विश्वविद्यालय क्षेत्र र लाटीझोडा साझेदारी वन क्षेत्रका बासिन्दा प्रभावित छन्। रातभर हात्तीको डरले आगो बालेर चोक-चोकमा बस्न बाध्य छन्। साँझ परेसँगै जंगल क्षेत्रबाट हात्ती बस्तीमा प्रवेश गर्ने गरेका छन्। हात्तीले घर भत्काउने र बालीनाली नष्ट गर्ने गरेको स्थानीय कृष्णदेव राईले बताए।

सुकुना सामुदायिक वनका कार्यालय सचिव रामकुमार प्रधान (आर.के.) का अनुसार जंगल क्षेत्रमा हात्तीको आहारा नभएपछि गाउँतर्फ आउने र मानवीय तथा धनजनको क्षति गर्ने गरेको छ।

यसअघि वडा नम्बर ५ र ७ मा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ।