सुन्दरहरैंचा: मोरङकाे सुन्दरहरैँचा नगरपालिकाले दलित समुदायलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न पेशागत सिपमुलक सामग्री वितरण गरेको छ।
दलित समुदायको आर्थिक सशक्तीकरणका लागि आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्य रूजा घिमिरे, दलित उत्थानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले वितरण गरेका सामग्रीहरूमा २ थान फलाम काट्ने ग्रेन्डर मेसिन, ३६ थान कपडा सिलाउने मेसिन, २ सेट नौमती बाजा तथा ६ थान आरन भाँटी रहेका छन्।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले यस्ता कार्यक्रमहरूले विपन्न समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वितरण गरिएका सामग्रीको नियमित अनुगमन गरिने र उपयोगिता सुनिश्चित गरिने जानकारी पनि दिनुभयो। “पुर्खौली पेशा र नेपाली संस्कृति सँग जोडिएको यो समुदायलाई स्थानीय सरकारले निरन्तर सेवा र सुविधा दिँदै आएको छ,” नगरप्रमुख गुरागाईंले भन्नुभयो।
उपप्रमुख अकली चौधरीले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै विपन्न दलित समुदायका लागि छुट्याइएको १० लाख रुपैयाँको बजेटबाट सामग्री वितरण गरिएको जानकारी दिनुभयो।