फिचर समाचार स्थानिय

सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि हुने


विराटचोकः सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने भएको छ ।

आज बुधबार मेला स्थल वडा नम्बर १० स्थित विराटचोकमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा मेला सञ्चालन विषयमा छलफल भएको हो । सुन्दरहरैंचामा निर्माण गर्न बाँकी रहेका सार्वजनिक शौचालय निर्माण गर्न मेला लगाउन लागिएको हो ।

मेला आगामी माघ ३० गतेदेखि फागुन १० गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा हुन लागेको हो । कार्यक्रममा मेला मूल समारोह समिति संयोजक भोलेश्वर दुलालले सबै क्षेत्रको सहकार्यले मेला सफल हुने भन्दै यस क्षेत्रको गरिमा र प्रतिष्ठालाई बढाउन सबैसँग छलफल अन्तरक्रिया गरिने बताउनुभयो । विराटचोकमा १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर उद्योग वाणिज्य संघले मेला लगाउन लागेको हो । यस पटक नयाँ प्रविधिबाट स्टल बनाउन लागिएको जनाउँदै ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी र पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने उहाँले जानकारी दिनुभयो ।

आगामी दिन मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा भाडामा लिइएको हो । स्थायी रूपमा कम्पाउण्ड, शौचालय, गेट र मञ्च सो जग्गामा बनाइने सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । मेलामा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहने एक्स्पो मूल समारोह समितिका संयोजक दुलालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले मेला लगाउने विषय सम्बन्धित क्षेत्रलाई दिइने निर्णय भएबमोजिम आफू यसलाई सधैँ कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । ‘यो मेला लगाउन धेरै माग आएका छन्, कतिपय प्रलोभन पनि आए, तर म हुन्जेल मेला लगाउने विषयमा उद्योग वाणिज्य संघसँग समन्वय गरेर मात्रै लगाउने अनुमति दिनेछु’, नगरप्रमुख गुरागाईँले भन्नुभयो, ‘यस्तै मेलाका लागि अन्य जग्गा उपलब्ध गराउने विषयमा अध्ययन गरिनेछ ।’