कोशी प्रदेश फिचर समाचार स्थानिय

सुन्दरहरैंचामा ‘उत्कृष्ट ढुकुर जोडी’लाई सम्मान गरिने

विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिकाले सामाजिक सद्भाव र पारिवारिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले ‘उत्कृष्ट ढुकुर जोडी’ सम्मान कार्यक्रमको घोषणा गरेको छ। नगरपालिकाले उदाहरणीय वैवाहिक जीवन व्यतीत गर्दै आएका श्रीमान–श्रीमती जोडीलाई सार्वजनिक रूपमा सम्मान गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार वैवाहिक सम्बन्धमा रहेका जोडीहरूलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गर्दै समाजमा पारिवारिक समरसता, सहिष्णुता र सद्भावना फैलाउने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको हो। सम्मानका लागि आवेदन दिने जोडीले कम्तीमा १० वर्षदेखि वैवाहिक सम्बन्धमा रहनु परेको, दुबै जनाले नेपाली नागरिकता प्राप्त गरिसकेको र वैवाहिक सम्बन्धको आधिकारिक प्रमाणपत्र भएको हुनुपर्नेछ। साथै, उनीहरू सुन्दरहरैंचा नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गरिरहेको हुनुपर्छ।

त्यसैगरी, छोराछोरी जन्मिएका भए तिनीहरूको जन्मदर्ता गरिसकिएको हुनुपर्ने र नागरिकता बनाउने उमेर पुगेकाहरूको नागरिकता पनि बनाइएको हुनुपर्नेछ।

 विद्यालय जाने उमेरका छोराछोरी विद्यालयमा भर्ना गरिएको हुनुपर्ने तथा संयुक्त परिवारमा बसोबास गर्दै अभिभावक वा सासु-ससुराको राम्रो हेरचाह गरिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ।

श्रीमान–श्रीमतीबीचको झगडासम्बन्धी कुनै मुद्दा वा उजुरी प्रहरी, अदालत वा न्यायिक समितिमा दर्ता नभएको हुनुपर्नेछ। साथै, विवाहको १० वर्षभित्र उनीहरूले दुई वर्षभन्दा बढी समय वैदेशिक रोजगारीमा नबिताएको शर्त पनि लागु गरिएको छ।

यस सम्मानका लागि इच्छुक जोडीहरूले आवश्यक प्रमाणपत्रहरू संलग्न गर्दै १० दिनभित्र आफ्नै वडामा निवेदन दिन सक्नेछन्। नगरपालिकाले यस्तो कार्यक्रममार्फत समाजमा बढ्दो पारिवारिक कलह, लैंगिक हिंसा र सामाजिक विकृतिहरूलाई न्यूनीकरण गर्दै आदर्श पारिवारिक जीवनलाई प्रोत्साहन गर्ने अपेक्षा राखेको छ।

सामाजिक सञ्जालहरूमा पनि यो कार्यक्रमको चर्चा चलिरहेको छ, जसले अन्य स्थानीय तहहरूलाई यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिने विश्वास गरिएको छ।