बिराटचोक: मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। सोमबारदेखि प्रथम सुन्दरहरैंचा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो।
सुन्दरहरैंचा १२ मा रहेको इन्द्रपुर क्रिकेट क्लबले प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। क्लबका अध्यक्ष प्रमेन्द्र के.सी.ले स्थानीय स्तरमा क्रिकेटको विकास गर्न, युवाहरूमा क्रिकेट खेलप्रतिको चासो र जागरूकता बढाउने लक्ष्यका साथ पहिलो पटक प्रतियोगिता गर्न लागेको बताए। अध्यक्ष के.सी.का अनुसार सुन्दरहरैंचा नगरभित्रका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गरेर भविष्यमा नगरको एउटा क्रिकेट टिम निर्माण गर्न पनि यो आयोजना गर्न लागिएको हो। खेल लिग चरणमा हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले इन्द्रपुर क्रिकेट क्लबले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता सफल बनाउन सबैलाई अनुरोध गरे। उनले युवाको रोजाइमा पर्ने क्रिकेट खेलको विकास गर्न नगर लागिपरिरहेको बताए। उनले नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए।
प्रतियोगितामा वडा नम्बर १ बाहेक १२ टिमको सहभागिता रहने छ। वडा नम्बर १२ को भने दुईवटा टिम रहने आयोजकले जनाएको छ। सो प्रतियोगिता कार्तिक ५ गते सोमबार बिहान ८ बजेदेखि १० गतेसम्म सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले नगद १५ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडीलाई नगद २ हजार दिइने आयोजकले जनाएको छ। खेल सम्पन्न गर्न ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ। कार्यक्रममा नगर खेलकुद विकास समिति सदस्य केशव बास्तोलाले नगरले क्रिकेटका लागि बजेट छुट्याएको बताए।
कार्यक्रमको मुख्य प्रायोजक सुन्दरहरैंचा वडा नम्बर १२ को कार्यालय रहेको छ। यस्तै प्रायोजक सुविजिमुर माध्यमिक विद्यालय, सह-प्रायोजक बाल प्रतिभा इङ्लिस स्कुल, सहयाेगि संस्था बग्गी, सिद्धार्थ स्कुल, र मुख्य सहयाेगि संस्था नगर खेलकुद विकास समिति सुन्दरहरैंचा रहेको आयाेजक संस्थाका अध्यक्ष के.सी.ले जनाए ।