विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिकामा नापतौलका यन्त्र दर्ता, नवीकरण तथा जाँच गर्ने शिविर सञ्चालन भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार र शनिबार यो शिविर चल्नेछ।
यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई मध्यनजर गरी नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले शिविर सञ्चालन गरेको हो।

उद्योग वाणिज्य संघका वाणिज्य सचिव तथा कार्यक्रम संयोजक रामकुमार बस्नेतका अनुसार व्यापार व्यवसायका लागि प्रयोग हुने नापतौल यन्त्र र ढक, डिजिटल काँटा समयमै दर्ता तथा जाँच नगराए कानूनी कारबाही भोग्नुपर्ने भएकाले यस प्रकारको शिविर आयोजना गरिएको हो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले शिविरमा आफ्ना नापतौल यन्त्र, ढक, डिजिटल काँटा लगायत नापतौल सामग्री चेकजाँच तथा प्रमाणित गर्न नछुटाउन आग्रह गर्नुभयो । उहाँले नापतौलका सामग्रीहरूको परीक्षणबाट उपभोक्ता अधिकारलाई थप बलियो बनाउने काम भएको बताउनुभयाे । “नापतौलका सामग्री परीक्षण नहुँदा व्यवसाय गर्नेहरूलाई पनि ढुक्क हुने अवस्था थिएन,” उहाँले भन्नुभयो ।
कानूनी प्रावधान अनुसार व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति प्राप्त आधिकारिक अधिकृत विक्रेताबाट खरिद गरी सञ्चालनमा ल्याउनुपर्छ। साथै, व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिनभित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको छ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरीक्षक निशा राईका अनुसार नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्छ र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्छ ।