विराटचोक/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तथा सर्वसाधारण र सरोकारवालाको राय-सुझाव नबुझेको कुरालाई प्रस्ट्याउने, नागरिकको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
सुनुवाइमा जिज्ञासा राख्दै उर्मिला सुवेदीले सामुदायिक विद्यालयका विद्यार्थीको एउटै पोसाक राख्न सुझाव दिइन्। उनले अपाङ्गता भएका व्यक्तिलाई सवारीसाधनमा यात्रा गर्दा छुट दिन नगरले पहल गरे यस्ता व्यक्तिलाई सहज हुने बताइन्। यस्तै, सीताराम पाण्डेले हात्ती आतङ्क रोक्न स्थानीय सरकारले अझ बढी भूमिका खेल्नुपर्ने बताए। उनले सामुदायिक वन क्षेत्रका समस्यालाई समेत उठाएका थिए। ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई स्वास्थ्य क्षेत्रमा दिइने सुविधाका विषयमा नगरपालिका संवेदनशील भएर लाग्नुपर्ने सुझाव दिए। अन्य धेरै व्यक्ति नगरकाे विकास र हितकालाई सुझाव दिएका थिए ।

स्थानीय नागरिक सेवाग्राहीले उठाएका प्रश्न र जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले सम्बोधन गरेका थिए। यस्तै, शाखागत प्रश्नमा सम्बन्धित शाखा प्रमुखले प्रस्ट पारेका थिए।
नागरिकको जिज्ञासालाई समाधान गर्दै नगरप्रमुख गुरागाईंले स्थानीय सरकार आम नागरिकको सेवामा सधैँ रहेको बताए। यस्तै, नगरबाट गरिने सेवालाई अझ छिटो र छरितो बनाउने बताए। विकास निर्माणमा नगर लागिरहेको र कहीँ कतै छुटेकालाई आगामी बजेटबाट सम्बोधन गरेर जाने प्रतिबद्धता जनाएका छन्।

सुन्दरहरैंचा वडा नम्बर ३ स्थित रणकाली मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए। कार्यक्रम नगरपालिकाको आयोजना र रेडियो सुसेलीको सहजीकरणमा भएको थियो। सुनुवाइमा वडाध्यक्षहरू, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।
नगरपालिकाले पहिलो चौमासिकमा गरेका कामको प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत साथै शाखा प्रमुखहरूले राखेका थिए। कार्यक्रममा उपस्थित नागरिक तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले नगरपालिकाको बजेट र सेवा प्रवाहका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।