सुन्दरहरैंचा, मोरङ — सुन्दरहरैंचा नगरपालिकाले दाम्पत्य जीवनमा उदाहरणीय समर्पण, समझदारी र सामाजिक सद्भाव कायम राख्न सफल १२ उत्कृष्ट दम्पती (ढुकुर जोडी)लाई सम्मान गरेको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट दम्पतीको खोजी गरेकोमा विभिन्न वडाबाट प्राप्त ४८ जोडीको आवेदन मध्येबाट नगरको मापदण्डअनुसार मूल्यांकन गरी हरेक वडाबाट १/१ जोडी गरी कुल १२ जोडीलाई उत्कृष्ट घोषित गरिएको हो।
आईतबार एक कार्यक्रमका बीच नगरपालिकाले प्रत्येक चयनित जोडीलाई नगद १०/१० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरप्रमुख गुरागाईंले आफ्नो सम्बोधनमा समाजमा दाम्पत्य जीवनको सकारात्मक उदाहरण प्रस्तुत गर्न सफल यस्ता जोडीहरूलाई सम्मान गर्नु नगरपालिकाको सामाजिक मूल्य र सम्बन्धप्रतिको सम्मान रहेको बताए। उपप्रमुख चौधरीले यस्ता कार्यक्रमले समाजमा आत्मीयता र एकताको भावना अझ मजबुत हुने विश्वास व्यक्त गरिन्।
समाजमा अनुकरणीय पारिवारिक जीवन बिताइरहेका जोडीहरूलाई सम्मान गर्ने यो अभियानले दाम्पत्य सम्बन्धलाई अझ मजबुत र मूल्यवान बनाउन प्रेरणा दिने विश्वास नगरपालिकाले लिएको छ।




