विराटचोक: मोरङकाे सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ।
विद्यालयको समग्र व्यवस्थापन तथा पठनपाठन लगायतका विषयसँग सम्बन्धित ३९ वटा बुँदामा आधारित रही विद्यालयका प्रधानाध्यापक (प्र.अ.) र शिक्षा, युवा तथा खेलकुद उपशाखाबीच सम्झौता भएको नगरपालिकाले जनाएको छ।
उक्त सम्झौताले विद्यालयका प्रधानाध्यापकहरूलाई दैनिक कामकाज अझ सहज रूपमा सञ्चालन गर्न तथा शिक्षण–सिकाइ क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्झौता अनुसार गत वर्षको तुलनामा सिकाइ उपलब्धिमा वृद्धि गर्नुपर्ने, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिनुपर्ने, विद्यालयलाई संस्कारमैत्री, बालमैत्री तथा प्रविधिमैत्री बनाउनुपर्नेछ। हप्तामा एक दिन अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने र विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमहरू आयोजना गर्नुपर्ने जस्ता बुँदाहरू समेटिएका छन्।


