विराटचोक: यही माघ ३० गतेदेखि १० दिनसम्म लाग्ने “सुन्दरहरैंचा विराट एक्स्पो-४” लाई भव्य रूपमा सम्पन्न गर्न आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ।
आज बुधबार सुन्दरहरैंचा क्षेत्रमा क्रियाशील सञ्चारकर्मीसँग छलफल गरिएको छ। आम नागरिकसम्म सूचना पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले छलफल गरिएको सूचना, सञ्चार प्रविधि व्यवस्थापन उपसमिति संयोजक कृष्णप्रसाद ओझाले बताउनुभयो। यसपटकको एक्स्पोमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरेर प्रचारप्रसार गर्ने तयारी रहेको समेत ओझाले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले सबैको हातहातमा एन्ड्रोइड फोन छ, हामी सबै प्रविधिमा जोडिएका छौं। त्यसैले पनि अनलाइन सञ्चार माध्यम, टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगमा जोड दिइनेछ “।

नेपाल पत्रकार महासंघ मोरङ जिल्ला कार्यसमिति सदस्य बाबुराम निरौलाले एक्स्पो सफल बनाउने कुरामा सञ्चारकर्मीको संधै साथ रहने बताउनुभयो। उहाँले सञ्चार क्षेत्रलाई दिइने विज्ञापनलाई एकरूपता दिन सुझाव समेत दिनुभयो।
छलफलमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले एक्स्पो सफल पार्न आम सञ्चार क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाउनुभयो।
यसअघि बैंक तथा वित्तीय क्षेत्र, सहकारी क्षेत्र, निजी विद्यालयका प्रतिनिधिलगायत क्षेत्रसँग छलफल गरिसकिएको छ। सुन्दरहरैंचा-१० विराटचोकमा फागुन ११ गतेसम्म चल्ने एक्स्पोका लागि धमाधम स्टल बुकिङ भइरहेको छ। एक्स्पाेबाट प्राप्त रकमले निर्माणाधीन सार्वजनिक शौचालय सम्पन्न गर्ने र अरू पनि शाैचालय निर्माण गर्ने उद्देश्य राखिएको छ।
