कृषि-बातावरण कोशी प्रदेश जीवनशैली फिचर समाचार स्थानिय

सुन्दरहरैंचा-९ मा फोहर वर्गीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

माेरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा सरसफाइ तथा फोहर वर्गीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएकाे थियो ।

कार्यक्रममा विभिन्न विद्यालय, मठ–मन्दिरहरूमा डस्टबिन वितरण गरिनुका साथै टोल विकास संस्थाहरूको अगुवाइमा सरसफाइ गरिएको थियो। 

हसिना मिडिया प्रा.लिको सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, वडा सदस्यहरू सहित नगर प्रहरी र स्थानीय नागरिककाे सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पब्लिक–प्राइभेट पार्टनरशिप (पीपीपी) मोडलमार्फत फोहर संकलन सुरु गर्ने तयारी गरेको जनाएको छ। 

यस मोडलमा घर–घरमै पुगेर फोहर संकलन गरिनेछ र संकलन गर्नुअघि फोहरलाई स्रोतमै वर्गीकरण गर्न प्रशिक्षण दिन आवश्यक रहेकाेमा याे कार्यक्रम प्रभावकारी हुने सहयोगीले बताए । 

फोहर मुख्यतः तीन भागमा वर्गीकरण गरिनेछ — कुहिने (भान्साजन्य), नकुहिने (प्लास्टिक, धातु) र सिसाजन्य  फोहर । याे लागू भए यस्ता फोहरहरू छुट्टाछुट्टै  राख्नुपर्ने व्यवस्था गरिनेछ। 

कुहिने फोहरबाट कम्पोस्ट मल तयार गरिनेछ भने पुनः प्रयोग गर्न मिल्ने सामग्री पुनः प्रयोग केन्द्रमा पठाइनेछ। 

याे कार्यक्रमले सहभागीहरूमा सचेतना बढाउनुका साथै स्वच्छ वातावरणका लागि वर्गीकृत फोहर संकलन प्रणालीको अभ्यासमा सहयोग पुग्ने आयोजकले जनाएका छन्।