कृषि-बातावरण फिचर समाचार

सुन्दरहरैचामा पहिलोपटक धान रोप्ने मेसिनको प्रयाेग  

विराटचाेक: मोरङको सुन्दरहरैचामा पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरिएको छ। बुधबार सुन्दरहरैचा नगरपालिका २ का युवा उद्यमी किसान शेखर निरौलाको खेतमा यो मेसिनको परीक्षण गरिएको थियो।

मेसिनले धान रोप्न थालेपछि स्थानीय बासिन्दाहरू अचम्मित भए। यो मेसिनले एक घण्टामा १०-१२ कठ्ठा क्षेत्रफलमा धान रोप्न सक्ने बताइएको छ। यसले श्रमिक अभावको समस्या समाधान गर्नुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरिएको  छ।

सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा अधिकृत सुदीप भण्डारीका अनुसार, नगरभित्र ५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गर्दछ। तर रोपाइँ गर्ने मजदुरको अभावले गर्दा धेरै जमिन बाँझो रहने गरेको छ। यस मेसिनको प्रयोग गर्नसके यो समस्या समाधान हुने आशा गरिएको बताए ।

याे मेसिनकाे नगरप्रमुख केदारप्रसाद गुरागाईंले समेत निरिक्षण गर्नुभएको थियाे । यस्तै कृषि ज्ञान केन्द्र मोरङका निमित्त कार्यालय प्रमुख राम देव सिंहले यस प्रविधिको प्रयोगलाई सकारात्मक रूपमा लिएका छन्। उनका अनुसार, केन्द्रले यस प्रयोगको निरीक्षणका लागि प्राविधिकहरू खटाएको थियो ।

 कोशी प्रदेशमै याे खालकाे मेसिन पहिलो पटक परिक्षण गरिएको हाे । कृषि कार्यमा प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको छ। यसले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।