सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
छात्राहरूको छनोट प्रक्रिया सम्बन्धित विद्यालयहरूले मापदण्डअनुसार छनोट गरी सिफारिस गरेका आधारमा गरिएको थियो । कार्यक्रममा पारदर्शिता र सहभागिता सुनिश्चित गर्न प्रत्येक विद्यालयमा गुनासो तथा समस्या पेटिका राखिएको थियो ।
उक्त पेटिकामा छात्राहरूबाट प्राप्त सुझाव, गुनासा तथा समस्या अध्ययन गरी उनीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले यो आर्थिक सहयोग वितरण गरिएको जनाइएको छ । कार्यक्रमले छात्राहरूलाई अध्ययनमा निरन्तरता दिन, आत्मबल बढाउन र शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नगरपालिकाले आगामी दिनमा पनि छात्रामैत्री तथा शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




