सुन्दरहैँचा / माेरङकाे सुन्दरहरैँचास्थित कवि सोमप्रसाद भट्टराईद्वारा लिखित ‘अतीतदर्पण खण्डकाव्यको लोकार्पण गरिएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित राइडर्स महफिलमा कवि भट्टराईद्वारा लिखित खण्डकाव्यको लोकार्पण गरिएको हो । राइडर्स गजल महफिलमा रूपक वनवासी (काठमाडौँ), रश्मि असफल (झापा), टीका खड्का राष्ट्रप्रेमी (मोरङ) र सुमन रेग्मी (सुनसरी) को बेजोड प्रस्तुति रहेको थियो । महफिलमा प्रस्तुत हुनेले तीन चरणमा ६ ओटा गजल सुनाएका थिए । २०७७ सालमा स्थापना भएको राइडर्स महफिलको सातौँ शृङ्खलाका रूपमा रहेको महफिलका संयोजक यादव भट्टराईले बताए ।
भाषाविद् एवम् वरिष्ठ साहित्यकार पं. पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियाे ।
लोकार्पित कृतिमाथि कवि तथा समीक्षक टीका आत्रेयले समीक्षा प्रस्तुत गरेकी थिइन् । आत्रेयले कवि सोमप्रसाद भट्टराईका रचनामा आफू हुर्किएको भूगोलको इतिहास आएको बताइन । कवि भट्टराईसँग विषयवस्तुलाई कलात्मक तरिकाबाट प्रस्तुत गर्ने क्षमता रहेको बताइन् ।
कार्यक्रममा स्रष्टाहरू विवश बलिभद्र काेइराला, केशु विरही, तिला लेकाली, धनजीत पराजुली, शिशिर भट्टराई, नीरज कोइराला, रामप्रसाद खरेल, नवराज पोखरेल ‘नवशिला’, पुरन याक्खा, विनोद विवश घिमिरे, प्रिन्स प्रमोद ढकाल, दीप मङ्ग्राती, दुर्गा खरेल, पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् त्रय मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य र मोहनप्रसाद काफ्ले, कवि तथा समीक्षक दीपकप्रसाद न्यौपाने, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, इन्द्रपुर जेसिसका संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ९७ वर्षीय पं. पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको थियो । सुन्दरहरैँचा राइडर्स महफिलका सल्लाहकार चूडामणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कवि भरत गुरागाइँ बरबरिकको रहेको थियो ।