कोशी प्रदेश फिचर समाचार

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले “रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मूल नाराका साथ विराटचोक, सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक शाखा विराटनगरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कुल १३ पिन्ट रगत संकलन गरिएको संयोजक चिरञ्जीवी शिवाकोटीले जानकारी दिनुभयो।

देशमा विद्यमान रगत अभावको समस्या समाधान गर्न तथा हालैको जेन-जी आन्दोलनमा घाइते भएका सयौं विद्यार्थी र सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा सुन्दरहरैंचा वडा नं. ७ का वडा अध्यक्ष भुवन सिंह मगर, वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, ज्ञान ज्योति ईङ्लिस स्कुलका प्रिन्सिपल देवि सिटौला, नेपाल तामाङ घेदुङ संघ कोशी प्रदेश संयोजक मित्रसेन योञ्जन लगायतको उपस्थिति थियो।

कार्यक्रमको सुरुवात जेन-जी आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झनामा २ मिनेट मौनधारण गरेर गरिएको थियो। प्रमुख अतिथि उप्रेती र प्रिन्सिपल सिटौलाले शुभकामना मन्तव्य दिँदै रक्तदानलाई महान् मानवीय कार्य भएको उल्लेख गर्नुभयो।

रक्तदानमा सहभागी दाताहरू, सहयोगी संस्था र कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै संयोजक शिवाकोटीले कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।