पूर्वी अनलाइन १८ आश्विन । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य क्षेत्र अन्तर्गत खोप, आधारभूत स्वास्थ्य उपचार, संस्थागत सुत्केरी र आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य उपचार सेवामा नागरिकलाई अनुभूति हुने गरी स्वास्थ्य सेवा प्रदान गर्दै सफलता हासिल गरेको छ। यस पालिकाभित्र १ वटा नगर अस्पताल, ११ वटा स्वास्थ्य संस्था, ३४ वटा खोप केन्द्र र २४ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन्।
नगरपालिकाका सबै स्वास्थ्य संस्थाबाट सञ्चालित खोप कार्यक्रम अन्तर्गत १,६५३ जना बालबालिकाले खोप प्राप्त गरी पूर्णखोप सुनिश्चित पालिका बन्न सफल भएको छ। यस कार्यक्रमलाई सफल बनाउन नगरभरि घरधुरी सर्वेक्षण गरी हालसम्म कुनै खोप प्राप्त नगरेका ५ वर्षमुनिका ६ जना र खोप छुटेका १५३ जनालाई खोप दिने कार्य समेत गरी पूर्णखोप पालिका बन्न सफल भएको छ।
एक आर्थिक वर्षमा यस नगरले सबै स्वास्थ्य संस्थाबाट सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमबाट कुल ९२,२४८ जनाले सेवा लिएको देखिन्छ। यो कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हो। नगर अस्पतालमा मात्र सेवा लिनेको संख्या ४८,७९२ रहेकोमा यस उपचारमा केही नागरिक छिमेकी पालिकाबाट सेवा लिन आएको रेकर्डले देखाउँछ। यो तथ्याङ्कलाई केलाएर हेर्दा स्वास्थ्य संस्थाप्रति जनताको विश्वास बढेको देखिन्छ।
प्रजनन स्वास्थ्य अन्तर्गत महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी ७१७ जनामा स्क्रिनिङ गर्दा २ जनामा रोग पत्ता लागी उपचारको क्रममा रहेका छन्।
सुन्दरहरैँचा नगरपालिकामा मातृ तथा बाल मृत्युदरको रेकर्ड शून्य बनाउन सफल देखिन्छ भने संस्थागत सुत्केरीमा ९९ प्रतिशतभन्दा बढी सफलता हासिल गरेको छ। अस्पताल सेवामा एम.डि.जी.पी.बाट नियमित सेवा प्रवाह भइरहेको छ भने ल्याब तर्फ बि.एम.एल.टी. दक्ष प्राविधिकबाट ल्याब सेवा सञ्चालन भएको छ।
यस नगरपालिकामा नसर्ने रोग तर्फ सुगर, प्रेसर र क्यान्सरका रोगीहरु निरन्तर बढिरहेकाले दीर्घकालीन स्वास्थ्य समाधानका लागि पालिकाले कदम चाल्नुपर्ने देखिन्छ। यसै विषयमा नगरप्रमुख केदारप्रसाद गुरागाईंसँग कुरा गर्दा उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा विपन्न वर्गलाई बिमा मार्फत पहुँचमा ल्याउन सफल भएका छौं। नगर अस्पतालको सेवालाई विशेष प्राथमिकता दिँदै नसर्ने रोगहरुप्रति हामी सचेत भएर कार्ययोजना निर्माण गर्ने चरणमा रहेका छौं।”