कोशी प्रदेश फिचर समाचार स्थानिय

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा महिलाको मृत्यु

विराटचोक : जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा-५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको मृत्यु भएको छ।

सुन्दरहरैंचा-५ का वडा सदस्य घनश्याम घले गुरुङका अनुसार सोमबार साँझ नमुना सामुदायिक वनको जङ्गलमा लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो। उनी दिउँसो दाउरा खोज्न जङ्गल गएकी थिइन् र साँझसम्म घर नफर्किएपछि बिहान खोजी गर्ने क्रममा जङ्गलमै मृत फेला परेको वडा सदस्य घले गुरुङले बताए।

नमुना सामुदायिक वनमा १३ वटा जंगली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको उनले जानकारी दिए। हात्तीको त्रासका कारण उक्त क्षेत्रका बासिन्दाहरू रातभर जाग्राम बस्नु परेको छ।

करिब दुई साताअघि मात्र सुन्दरहरैंचा नगरपालिका-७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीया गंगा श्रेष्ठको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेका छन्।