विराटचाेक/ माेरङकाे सुन्दरहरैँचा स्थिति गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कलेज अफ इन्भारमेन्ट एण्ड फरेस्ट्रीमा वृक्षारोपण अभियान सुरु गरिएको छ। सामुदायिक विकास एण्ड सोलुसन प्रालीको सौजन्यमा सञ्चालित उक्त अभियान अन्तर्गत विश्वविद्यालय परिसरमा १० हजार निमका बिरुवा रोप्ने लक्ष्य लिइएको हो।
कलेजले विभिन्न अध्ययन तथा अनुसन्धानबाट निमको वनले वन्यजन्तु—विशेषतः हात्तीको प्रकोप न्यूनीकरणमा सहयोग पुग्ने देखिएको आधारमा यो वृक्षारोपण कार्य आरम्भ गरेको हो।
निमको कडुवा स्वाद र बलियो गन्धका कारण हात्ती त्यस्ता क्षेत्रबाट परै बस्ने प्रवृत्तिमा देखिएका छन्। साथै, निम हात्तीको मनपर्ने वनस्पति नभएकाले यो बोटको बाक्लो घेराले हात्तीलाई मानव बस्ती वा खेततिर पस्नबाट रोक्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हालसम्म कलेज परिसरमा ५ हजारभन्दा बढी निमका बिरुवा रोपिएको सामुदायिक विकास एण्ड सोलुसन प्रालीका सञ्चालक बाबुराम निरौलाले जानकारी दिनुभयाे ।
कलेजका निर्देशक नवीन भट्टराईका अनुसार वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण अभियानलाई निरन्तरता दिइनेछ। कार्यक्रममा डिभिजन वन कार्यालय माेरङकाे समेत सहभागीता थियो ।




